जीटीएमा भ्रष्टाचारको मुद्दा, चुलियो आरोप-प्रत्यारोप

0
928

दार्जीलिङ, 28 जूनः राज्यपाल जगदीप धनखड़ले ‘पहाड़का विभिन्न राजनीतिक दल र जनप्रतिनिधिहरूले आफूसमक्ष राखेका मागलाई’ उद्धृत जीटीएमा व्यापक भ्रष्टाचार भएको आरोप लगाएर दार्जीलिङबाट प्रस्थान भएका छन्।

एक सप्ताहव्यापी दार्जीलिङ भ्रमण समाप्त गरी कलकत्ता प्रस्थान गर्नअघि राज्यपालले आफ्नो कानुनी अधिकार र क्षमता अनुसार जीटीएको क्यागमार्फत् स्पेशल अडिट गराउने पनि बताएका छन्, ताकि हिजोका दिनमा जीटीएको बोर्ड अव् एड्मिनिस्ट्रेशनमा बसेकाहरूलाई जिम्मेवार ठहऱ्याउन सकियोस्।

दार्जीलिङमा आफ्नो बसाइअवधि पहाड़का विभिन्न राजनीतिक दल, जनप्रतिनिधिहरूले आफूसित भेट गरी जीटीएमा व्यापक घोटाला भएको आरोप लगाउँदै यसको अडिट गरिनुपर्ने माग राखेको पनि राज्यपालले बताए।

उनका अनुसार जीटीएमा करोड़ौं रुपियाँ आए पनि त्यसको तुलनामा ठोस विकास छैन। साथै राज्यपालले 2017-देखि नै जीटीएमा चुनाउ नभएको बताउँदै यसलाई लोकतन्त्रको विनाशको हत्या दिएका छन्।

“सबैभन्दा दुर्भाग्यपूर्ण कुरा के छ भने 2017 देखि यहाँ कुनै निर्वाचित संस्था छैन, जुन गणतन्त्रको विनाश हो। साथै दुई दशकदेखि जीटीए क्षेत्रका जनताले आफ्नो प्रतिनिधि छान्न पाइहेका छैनन्। यसले जम्मै लोकतान्त्रिक प्रक्रिया अवरुद्ध बनेका छन्”, उनले भनेका छन्।

उल्लेखनीय छ, राज्यपालले दुई दिनअघि मात्रै एक ट्वीट गरी जीटीएमा घोटाला भएको आरोप लगाएका थिए।

नले जीटीएलाई घोटालाको अड्डाको संज्ञा दिँदै केन्द्र सरकारले हजार करोड़ रुपियाँ दिएर पनि यहाँ त्यसको बराबर विकास कार्य नभएको आरोप लगाएका थिए।

दुई दिनअघि मात्र दार्जीलिङका विधायक नीरज जिम्बाले जीटीएमा व्यापक घोटाला भएको आरोप लगाउँदै यसमाथि उचित जाँच गराउने राज्यपालसमक्ष माग गरेका थिए।

यति मात्रै होइन, दार्जीलिङका सांसद राजु विष्ट, क्रामाकपा अध्यक्ष आरबी राई साथ अन्य कैयौँले जीटीएमा व्यापक भ्रष्टाचार भएको आरोप लगाएका थिए, जसमाथि राज्यपालले दार्जीलिङ छोड्नअघि मिडियामार्फत सार्वजनिक गरेर जीटीएमा क्यागको जाँच गराउने वचन दिएका छन्।

यसबारे विमल गुरुङपन्थी गोजमुमोका महासचिव एवं जीटीएका पूर्व सभासद् रोशन गिरीसित सोध्दा उनले आफूहरू जीटीएमा रहेसम्म लगातार अडिट भएको बताए। तर, 2017-देखि यता भने जीटीएमा व्यापक घोटाला भएको उनले पनि आरोप लगाए।

उनले भने, “2017-को समय दार्जीलिङ पहाड़मा 104 दिन बन्द हुँदा पनि जीटीएमा लगभग 4 पल्ट स्पेशल अडिट भएको थियो। त्यसपछि अडिट भयो, भएन हामीलाई थाह छैन अनि त्यसको सम्पूर्ण उत्तरदायी विनय तामाङ, अनित थापाहरू हुनेछन्।“

अर्कोतिर, पश्‍चिम बङ्गालका राज्यपाल जगदीप धनकड़ दार्जीलिङ पहाड़मा राजनीतिक सोच मात्रै राखेर आएको अनुभव भएको जीटीएका पूर्व अध्यक्ष एवं विनय तामाङपन्थी गोजमुमो महासचिव अनित थापाले आरोप लगाए।

राज्यपालको दार्जीलिङ भ्रमण अनि बयानले शान्त पहाड़लाई उत्तेजित बनाउने अनि आन्दोलनको माहौल तयार गर्ने काम भइरहेको पनि उनले आरोप लगाएका छन्।

विशेष राज्यपालले जीटीएमा व्यापक घोटाला भइरहेको छ भन्नेबारे स्पष्टीकरण दिने क्रममा नै सोमबार अनित थापाले यस्तो मत व्यक्त गरेका हुन्।

उनले जीटीएमा अडिट हुनपर्छ भन्ने विषयलाई आफूले पनि स्वागत गरेको बताउँदै दार्जीलिङ पहाड़का जनता कसैको उक्साइमा नआइदिने पनि अपील गरेका छन्।

“अडिटको कुरा पहिला पनि भएको हो। कुनै पनि व्यवस्थामा अडिट अति नै जरूरी छ। मैले अडिटलाई जहिल्यै पनि स्वागत गरेको छु। जहाँसम्म मलाई जानकारी छ, जीटीएमा आन्तरिक अडिट भइरहेकै छ। जीटीएमा कस्तो किसिमको कार्य भइरहेको छ, त्यो सबैलाई जानकारी भएको विषय हो। हामी सधैँ अडिटलाई स्वागत गर्छौं”, थापाले थप भनेका छन्, “राज्यपाल पहाड़ आउँदा पहाड़को हितको कार्य  गरेर जानुपर्छ। राजनीतिक सोच राखेर आउनु मात्र हुँदैन। महामहिमको भ्रमण र बयानले शान्त पहाड़लाई उत्तेजित गर्ने, आन्दोलनको माहौल तयार गर्ने काम भएको म बोध गर्दैछु। दार्जीलिङ पहाड़ अशान्त थियो। त्यो अशान्तिलाई शान्तिमा ल्याउने कार्य हामीले सबैलाई एकसाथ लगरे गऱ्यौँ। हामीले सबैसँग सन्तुलन राखेर कार्य गरेका हौँ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here