गान्तोक, 28 जूनः रक्षामन्त्री राजनाथ सिंहले आज भारतका विभिन्न क्षेत्रमा निर्माण गरिएका 63 वटा पुलको ई-उद्घाटन गरे।
यसमा सिक्किमको डिक्चु-सङ्कलन रोडको माने छु पुल, चुङ्थाङ-लाचुङ रोड़को बी छु पुल, सिङ्ताम-डिक्चु रोडको कालीखोला पुल, चुङ्थाङ-लाचेन रोडको मुन्सिथाङ पुल, पिमछु पुल र माल्टिन पुल, फ्ल्याग-डोकोला रोडमा रहेको डिक्चु नाला पुल र किलोमिटर 24.70 मा अवस्थित पुल गरी जमामा आठवटा नयाँ पुल रहेका छन्।
लद्दाखको क्युङ्घमबाट आयोजित गरिएको ई-उद्घाटन कार्यक्रममा सिक्किम मुख्यमन्त्री पीएस गोले पनि सहभागी बने।
उत्तर सिक्किममा निर्माण गरिएका यी पुलले केही दुर्गम गाउँलाई जोड्ने र यसले स्थानीय जनसङ्ख्यालाई सहयोग पुग्ने मुख्यमन्त्रीले बताए।
उनले देशका लागि भएको महत्त्वपूर्ण कार्यक्रममा सहभागी बन्न पाएको प्रसन्नता व्यक्त गरे।
मुख्यमन्त्री पीएस गोलेले आफ्नो आधिकारिक फेसबुक पेजबाट जानकारी दिएअनुसार यी पुलले स्थानीय नागरिकसितै देशको सशस्त्र बललाई सीमावर्ती क्षेत्रमा सैनिक तथा आवश्यक उपकरणको परिवहनका लागि असाधारण सहयोग पुग्नेछ।
यसका साथै नयाँ पुलका कारण सेनाको परिचालन प्रभावशीलतामा पनि वृद्धि हुने उनले बताए।
यसबाहेक गान्तोक-मङ्गन तथा उत्तर सिक्किमका सबै सीमावर्ती क्षेत्रको कनेक्टिभिटीमा पनि सुधार हुने मुख्यमन्त्रीले बताए।
मुख्यमन्त्री पीएस गोलेले रक्षामन्त्री राजनाथ सिंह, उपराज्यपाल, सीमा सड़क सङ्गठनका निदेशकलगायत यो कार्य सञ्चालनमा सक्रिय प्रयासमा संलग्न व्यक्ति तथा सेनाका अधिकारीहरूप्रति आभार व्यक्त गरे।
उनले सशस्त्र बल र राज्य प्रशासनमाझ भएको आपसी सहयोगको सराहना गरे।