एकीकरणको मुद्दा सिक्किम-दार्जीलिङवासीको भावनामाथि खेलबाड गर्ने दुस्साहसः डीबी चौहान

0
941

गान्तोक, 28 जूनः पछिल्ला केही दिनदेखि सामाजिक सञ्जाल अनि सञ्चार माध्यममा सिक्किम र दार्जीलिङबिचको मैत्रीपूर्ण सम्बन्धमा फाटो ल्याउने उद्देश्यले प्रेरित राजनीतिक क्रियाकलाप अनि बयानबाजीलाई भारतीय जनता पार्टी, सिक्किमले गम्भीरतापूर्वक लिएको बताएको छ।

सोमबार एउटा प्रेस बयान जारी गरेर भाजपा सिक्किमका अध्यक्ष डीबी चौहानले भनेका छन्- ‘दार्जीलिङकेन्द्रित एउटा तथाकथित राजनीतिक दलले सिक्किम र दार्जीलिङ एकीकरणको माग गर्दै पश्चिम बङ्गालका राज्यपाल जगदीप धनखड़समक्ष ज्ञापन चढ़ाएर सिक्किम र दार्जीलिङवासीको भावनामाथि खेलवाड़ गर्ने जुन किसिमको दुस्साहस गरेको छ, भाजपा सिक्किम सम्पूर्ण सिक्किमेली जनताको तर्फबाट त्यसको घोर निन्दा अनि भर्त्सना जनाउँदछ।‘

उनका अनुसार सिक्किम र दार्जीलिङको आ-आफ्नै भौगोलिक, राजनीतिक तथा मौलिक पहिचान रहेका छन्। साथै संवैधानिक रूपमा पनि दार्जीलिङ र सिक्किमको आ-आफ्नो पहिचान रहिआएको छ।

‘हामी दुवै क्षेत्रका वासिन्दा एक-अर्काको साह्रो-गाह्रोमा सहयोग अनि मैत्रीपूर्ण सम्बन्धमा साथ दशकौँदेखि बाँधिएका छौँ। यसैगरी दार्जीलिङ क्षेत्रमा दशकौँदेखि चलिआएको छुट्टै राज्यको मागबारे पनि सिक्किमवासीले सधैँ हृदयबाट साथ र समर्थन गर्दै आएका छन्’, चौहानले थप भनेका छन्, ‘यस्तोमा दुवै क्षेत्रका राजनैतिक तथा मौलिक पहिचानमा धक्का लाग्ने किसिमको राजनीतिक षड्यन्त्र जुन प्रकारले उक्त राजनीतिक दलले गरेको छ, यसले एकातिर सिक्किमलाई प्राप्त संवैधानिक सुरक्षालाई चुनौती दिएको छ भने अर्कोतिर दार्जीलिङवासीको दशकौँदेखिको छुट्टै राज्यको मागलाई पनि चपरीमुनि गाड्ने प्रयास गरेको छ।’

सिक्किम-दार्जीलिङ विलयको माग उठाउने राजनीतिक क्रियाकलापले एकातिर दार्जीलिङप्रतिको सिक्किमवासीको भावनात्मक सम्बन्धलाई बिगार्ने दुष्प्रयास गर्नका साथै छुट्टै राज्यका लागि चलेको आन्दोलनमा शहीद बनेका गोर्खाहरूलाई समेत अपमान गरेको भाजपा सिक्किमको ठम्याइ रहेको उनले बताएका छन्।

चौहानले विज्ञप्तिमा थप भनेका छन्, -‘यस प्रकारको षड्यन्त्रको भाजपा सिक्किम कड़ा शब्दमा भर्त्सना जनाउँदै आगामी दिनमा यस प्रकारको सोचलाई त्यागेर बहुसङ्ख्यक दार्जीलिङवासीको मुद्दालाई अघि बढ़ाउन उक्त राजनैतिक दललाई सुझाउ दिँदछौँ। हामी सिक्किमवासी दार्जीलिङवासीको दशकौँदेखिका छुट्टै राज्यको मागलाई सधैँ साथ र समर्थन जनाउँदछौँ भने बेला-बेलामा दुलोबाट बाहिर निस्किएर यस्तो षड्यन्त्रकारी राजनीतिक क्रियाकलाप गर्ने तत्त्वहरूविरुद्ध डटेर उभिनेछौँ।‘

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here