दार्जीलिङ, १ जुलाईः सांसद राजु बिष्टले गोर्खाल्याण्ड ल्याउनु त परको कुरा तर गोर्खाल्याण्ड विषय बोल्न समेत नसकेको आरोप भारती खेमा गोर्खा लीगले लगाएको छ।
त्यसैले भारती खेमा गोर्खा लीगले सांसद राजु बिष्टलाई भनेको छ- ‘काम नलाग्ने सांसद राजीनामा देऊ।‘
आज भारती खेमा गोर्खा लीगले सांसद पदबाट बिष्टको राजीनामा माग्दै दार्जीलिङमा पोस्टरिङ गऱ्यो।
‘काम नलाग्ने सांसद राजीनामा’, पोस्टरमा भनिएको छ- गोर्खाल्याण्ड ल्याउन त कुरै छाड़िदिउँ, गोर्खाल्याण्ड विषय बोल्न समेत नसक्ने एमपी राजु बिष्ट राजीनामा देऊ।‘
भारती खेमा गोर्खा लीगका अनुसार आफ्नो कार्यकालको आधा समय बितिसक्दा पनि छुट्टै राज्य माग विषय राजु बिष्टले पहल गर्न सकेनन्, त्यसैले ‘राजीनामा देऊ’ भनिएको हो।
राजुले राजीनामा दिएमा कुनै एकजना योग्य उम्मेदवारलाई स्वतन्त्र सांसदको रूपमा जिताएर संसद पठाइनेछ।
अर्कोतिर, पोस्टरिङ कार्यपछि स्थानीय प्रेस गिल्डमा पार्टी महासचिव एसपी शर्माले पत्रकारहरूलाई सम्बोधन गर्दै सांसद राजु बिष्टले एकजना स्वतन्त्र सांसदले जति मात्र कार्य गरेको आरोप लगाए।
शर्माका अनुसार राजु बिष्टको कार्यकालको आधा समय बितिसकेको छ। यो समयावधिमा छुट्टै राज्यको माग अलिकति पनि अघि बढ़ेको छैन। अर्कोतिर, भाजपाका सांसद जोन बारलाले छुट्टै राज्य उत्तर बङ्गाल भन्दैछन् भने दिलीप घोषले बङ्गाल विभाजन हुँदैन भनिरहेका छन्।
एउटै भाजपाको दुइमुखे कुराले जनताले अन्योल परिरहेको उनको भनाइ छ।
“केही काम गर्दैनन् भन्नेहरूलाई २०२१-को विधानसभा अघि जवाब दिनेछु भनेर राजु बिष्टले भनेका थिए। राजु बिष्टले वास्तवमा काम गर्दैछन् कि जनतालाई ढाँट्ने कार्य गरिरहेका छन्? यो कुरा हामी जान्न चाहन्छौँ”, एसपी शर्माले भनेका छन्।
अर्कोतिर, भाजपाका गठबन्धन दलहरूले पनि ससाना कुराहरूमा जनतालाई ढाँट्ने कार्य मात्र गरिरहेको त कतिपय दलले मास्क र सेनिटाइजर बाँड़्ने कार्यमा आफूलाई व्यस्त राखेको र यी दलहरूलाई मुद्दासँग कुनै चासो नरहेको उनको थप आरोप छ।
“के हामीले हाम्रो मुद्दा बोकाउन लागयक साँच्चिकै राजु बिष्ट छन् त? सोच्न पर्ने स्थिति आइसकेको छ। यदि उनले यो विषयमा काम गर्नम सक्दैनन् भने राजीनामा दिनुपर्ने समय आएको छ”, एसपी शर्माले थपे, “बरू उप चुनाउ होस्। फेरि नयाँ कुनै सांसद जाऊन्। किनभने राजु बिष्टले एकजना स्वतन्त्र सांसदभन्दा ठूलो केही काम गरेका छैनन्। आज जुन पार्टीको बहुमत लोकसभा र राज्यसभा दुवैमा छ, त्यो पार्टीले चाहेको खण्डमा छुट्टै राज्य गठन गर्नमा कति समय लाग्छ होला? यो पार्टीको इच्छाशक्ति नभएको कारण मुद्दा अहिलेसम्म लथालिङ्ग छ।”
उनका अनुसार अहिलेसम्म बिष्टले जे जति कार्य गरेका छन्, त्यो एकजना स्वतन्त्र उम्मेदवारले गर्ने जति मात्र छ। त्यसैले बरू मुद्दा बुझेका स्वतन्त्र उम्मेदवार संसद पुगेको राम्रो हुने शर्माको भनाइ छ। धेरै राम्रो योग्य व्यक्ति रहेकाले स्वतन्त्र सांसद पठाएको खण्डमा राजु बिष्टले भन्दा केही राम्रो कार्य गर्नसक्ने उनको दावी छ।
यसका साथै अब भारती खेमा गोर्खा लीगले राजु बिष्टमाथि चाप सृष्टि गर्ने कार्यक्रमलाई बृहत्तर रूपमा अघि बढ़ाउने पनि उनले एसपी शर्माले बताएका छन्।