कालेबुङ, 2 जुलाईः विनयपन्थी गोजमुमोबाट आज राजीनामा दिएका प्रवीण रहपालले ‘अब अनित थापाको च्याप्टर क्लोज भएको’ बताएका छन्।
प्रवीण रहपालको आरोपका अनुसार अनित थापाले आफ्ना कार्यकर्ताहरूलाई ‘एक-दुई पर्ख जीटीएका चेयरम्यान मै हुँ’ भनेर झुक्याउने कार्य गरिरहेका छन्।
“म यहाँबाट भन्दैछु, अब अनित थापाको च्याप्टर क्लोज भयो। कार्यकर्ताहरूले बुझ्नू”, उनले थपे, “भ्रममा नपर्नुस् तपाईंहरू।”
पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनी पार्टी र पार्टीका शीर्षस्थ नेतृत्वप्रति आक्रोशित देखिएका थिए। साथै उनले अब विनयपन्थी मोर्चाको पतन शुरू भएको पनि बताए।
पार्टी पतनतर्फ जानुमा सिस्टम नभएको र पार्टीका अन्य पदाधिकारीहरूलाई पर पन्साएर ‘मन परेका’ केही व्यक्तिलाई मात्र लिएर पार्टी अध्यक्ष र महासचिवले लिनेगरेको ‘एकलकाँटे निर्णय’ दायी रहेको उनको ठम्याइ छ।
आफ्नो सम्बोधनमा उनले पार्टीमाथि थुप्रै आरोप लगाएका छन्। उनले लगाएका आरोपहरूमध्ये धाँधली प्रमुख छ।
“कालेबुङमा साढ़े तीन वर्षभित्र कालेबुङमा मात्र साढ़े सात सय करोड़ रुपियाँ आयो। तपाईंहरू भनिदिनुस्, त्यो साढ़े सात सय करोड़ रुपियाँमध्ये सात करोड़को रुपियाँ काम पनि कालेबुङमा कहाँ भयो?”, उनले आरोप लगाए, “आज कालेबुङमा स्ट्यान्ड, पार्किङको समस्या हेर्नुस्। कालेबुङमा आएको साढ़े सात सय रुपियाँ पैसामध्ये केही मात्रा अरू समष्टिमा अलिअलि खर्चियो, तर रहल पैसा सबै ४१ र ४२ नम्बर समष्टिमा खनियो। त्यहाँका सबैभन्दा बढ़ी कार्य गर्ने नै रूदेन लेप्चा हो। आज रूदेन लेप्चाले कालेबुङमा पार्टी होइन कम्पनी चलाउँदैछन्।”
यति मात्र होइन, पार्टी फन्डका रूपमा उठेको कम्तीमा ३० करोड़ रुपियाँ रूदेन लेप्चाले आफ्नो व्यक्तिगत फाइदाका लागि प्रयोग गरेको पनि आरोप लगाए।
प्रवीण रहपालका अनुसार विनयपन्थी मोर्चा अब पार्टी नरहेर कम्पनी बसिसकेको छ। कालेबुङमा त विनयपन्थी मोर्चा रुदेन एन्ड कम्पनीमा परिणत भएको छ।
यसैगरी उनले खरसाङ र दार्जीलिङका दुवै उम्मेदवार योग्य हुँदाहुँदै पनि हार्नुका कारण ‘अनित थापाको बेहोरा’ र विनय तामाङको ‘हुकुमवाद’ रहेको दावी गरे।
अर्कोतिर उनले भोलेन्टियर टिचर्सहरूले भोलिका दिनमा न्याय पाउनुपर्ने पनि गरे। उनका आरोपका अनुसार भोलेन्टियर टिचर्सको भेरिफिकेशनमा पनि भाइभतिजावाद गरेर साँचो भोलेन्टियर टिचर्सहरूलाई अन्याय गर्ने कार्य भइरहेको छ।
उल्लेखनीय छ, आज कालेबुङका चारजना शीर्ष पदाधिकारीले आज राजीनामा दिएका छन्।
राजीनामा दिनेहरूमा पार्टीका उपाध्यक्ष नोर्देन लामा, केन्द्रीय सदस्य प्रवीण रहपाल, प्रवक्ता भुवन पी. खनाल र कार्यालय सचिव शरण प्रधान रहेका छन्।
यसका साथै विनयपन्थी मोर्चालाई ठूलो झट्का लागेको छ।
आज राजीनामा दिनेहरूले विनयपन्थी मोर्चासँग राजनीतिक सम्बन्ध मात्र तोड़ेका छैनन्, तर पार्टीमाथि धाँधली, हैकमवादलगायत अन्य धेरै आरोप पनि लगाएका छन्।