कालेबुङ, ३ जुलाईः विनय तामाङपन्थी मोर्चामा पैह्रो जाने क्रम शुरू भएको छ।
हिजो पार्टीका शीर्ष चारजना नेतृत्व क्रमैले नोर्देन लामा, भुवन पी. खनाल, प्रवीण रहपाल र शरण प्रधानले राजीनामा दिएका थिए भने आज ३५ नम्बर समष्टि नारी मोर्चा कोषाध्यक्ष प्रज्ञा भण्डारीले पनि राजीनामा दिएकी छन्।
उनी जिल्ला समिति सदस्य र बोङ गैरी गाउँ शाखा नारी मोर्चाकी सचिव पदमा पनि थिइन्।
उनीसँगै गैरी गाउँ शाखा नारी मोर्चा अध्यक्ष चन्द्रकला भण्डारी, आईसीडीएस 35 नम्बर समष्टि समिति सचिव रजनी प्रधान, गैरी गाउँ शाखा कोषाध्यक्ष गोमा रेग्मी, अमले शाखा नारी मोर्चा संयोजिका सुनिता प्रधान, रोहिता अधिकारीलगायत यस शाखाभित्र रहेका २५ जना कार्यकारी सदस्यले एकै साथ राजीनामा दिएका छन्।
पार्टीमा आफूहरूको मूल्याङ्कन नभएका कारण नै आज राजीनामा दिएको उनीहरूको भनाइ छ।
विशेषगरी एकै शब्द पनि सोधीकन समष्टि कमिटी विघटन गरेकाले पनि मन दुखेको पनि उनीहरूले बताएका छन्।
साथै जिल्ला कमिटीका शीर्ष नेतृत्वहरूले पनि आफूहरूको योगदानको कदर नगरेको पनि राजीनामा दिनेहरूले बताएका छन्।
रुदेन लेप्चालाई विजय गराउन आफूहरू ४२ दिन खून-पसिना एक गरी खटेको तर अहिले विधायक लेप्चाले पटकपटक दिएको प्रेस बयानले आफूहरूलाई ठूलो आघात पुगेकाले राजीनामा दिनुपरेको उनीहरूले बताएका छन्।