दार्जीलिङ, २३ फरवरी : असम र मेघालयको सीमामा पर्ने लाङ्पीका रैथाने गोर्खाहरूमाथि मेघालयका एक विधायकले गरेको आपत्तिजनक टिप्पणीको तीखो शब्दमा निन्दा गर्दै भारतीय गोर्खा परिसङ्घ (भागोप)-ले कामरूप क्षेत्रका जिल्लापाललाई ज्ञापन सुम्पिएको छ।
जनसंवादसँग कुराकानी गर्दै भागोपका राष्ट्रिय कार्यकारी अध्यक्ष मुनिष तामाङका अध्यक्ष भागोप असम राज्य कमिटीका अध्यक्ष नित्यनन्द उपाध्याय र महासचिव प्रकाश दाहाल, उपाध्याक्ष अमर अधिकारी र राभा हासोङ अटोनोमस काउन्सिलका सदस्य अर्जुन छेत्रीलगायत त्यहाँका रैथाने गोर्खाहरू रहेको एक प्रतिनिधि टोलीले कामरूपका जिल्लापाललाई भेट गरी गोर्खाहरूको सुरक्षाको मागमा ज्ञापन सुम्पिएको हो।
ज्ञापनमा मेघालयका विधायकले लाङ्पीका रैथाने गोर्खाहरूको जस्तो प्रकारको भाषाको प्रयोग गरे, त्यसको तीखो शब्दमा निन्दा गर्दै त्यहाँका गोर्खाहरूको सुरक्षा र अधिकार सुरक्षित हुनुपर्ने माग ज्ञापनमा गरिएको तामाङले बताएका छन्।
उनले भने, “लाङ्पीलाई लिएर असम र मेघालयको विवाद नयाँ होइन। यो पुरानो विवाद हो। र यो विवादमा जहिल्यै बिनासित्थै लाङ्पीका गोर्खाहरू पिसिने गरेका छन्। पूर्वमा पनि यो विवादमा व्यर्थै त्यहाँका गोर्खाहरूलाई तानेर ल्याइ समस्यामा पार्ने गरेको थियो। अहिले पनि त्यस्तै गरिने कार्य भइरहेको छ। जुन कार्यको भागोपले तीखो शब्दमा निन्दा र भर्त्सना गर्दछ।’’
भागोपका कार्यकारी अध्यक्षले थप भने, “असम र मेघालयको विवादमा गोर्खाहरू पर्नु हुँदैन। त्यहाँका खाँटी भारतीय गोर्खाहरूको सुरक्षा र अधिकार सुनिश्चित र सुरक्षित हुनुपर्छ। मेघालयका एक विधालकले त्यहाँका गोर्खाहरूमाथि जस्तो भाषाको प्रयोग गरे, त्यो अत्यन्त निन्दानीय छ।’’
उनका अनुसार भागोपले चाँड़ै यसै विषयलाई लिएर असमका मुख्यमन्त्री सर्वानन्द सोनोवाललाई भेट गर्नेछ। साथै त्यहाँका गोर्खाहरूको सुरक्षा र अधिकार सुरक्षित हुनुपर्ने तथा यो विवादबाट गोर्खाहरूबाट अलग्गै राखिनुपर्ने माग गर्ने तामाङले थप बताएका छन्।
उल्लेखनीय छ, असम र मेघालयको सीमामा पर्ने विवादास्पद लाङ्पीका गोर्खाहरूलाई मेघालयका एक विधायकले ‘नेपाल जा’ भनेको भिडियो सोशल मीडियामा भाइरल भएको थियो। यो भिडियो भाइरल भएपछि उक्त विधायकको आपत्तिजनक र गैरप्रजातान्त्रिक बयानको चर्को विरोध भएको थियो।