सिङ्ताम र सोम चियाकमानमा पैह्रो, सड़क मार्गहरू बन्द

0
940

दार्जीलिङ, 8 जुलाईः हिजो रातभरि परेको पानीका कारण गएको पैह्रोले दार्जीलिङको सिङ्ताम चियाकमानस्थित गोपालधुरा-मोटाधुरा जोड़्ने मूल सड़क क्षतिग्रस्त बनाएको छ, जसको फलस्वरूप गोपालधुराबाट दार्जीलिङ शहर आउने गाड़ीहरूको चलाचल पनि पूर्ण रूपले ठप्प बनेको छ।

यसका साथै जोरूखनिवासी अनिल राईका घरअघि पनि पैह्रो गएकाले उनको घर जोखिमपूर्ण अवस्थामा रहेको छ।

सिङ्ताम चियाकमानलाई दार्जीलिङ शहरसित जोड़्ने मूल सड़क नै पैह्रोले क्षति पुऱ्याएपछि यहाँका मानिसहरू धेरै असुविधामा परेका छन् भने दैनिक रोजीमा काम गर्न आउने श्रमिकहरूले पनि सङ्कट झेल्न परेको छ।

गोपालधुराबाट दैनिक दार्जीलिङ शहरमा 10 देखि 12 वटा गाड़ी चल्ने गर्छन्, तर यो पैह्रोका कारण आज यहाँका एउटै पनि गाड़ी चल्न पाएन।

यसैबिच सिङ्ताम चियाकमाननिवासी तृणमूल कङ्ग्रेस सदस्य दिवस राईले सम्बन्धित विभागलाई यसमाथि विशेष ध्यान दिएर शीघ्र पैह्रो सोहोर्न माग गरेका छन्।

यसका साथै उनले अनिल राईका घरअघि सुरक्षा देवाल (प्रोटेक्सन वाल) लगाइदिने माग गरेका छन्।

यति मात्रै होइन, दार्जीलिङ सिंहमारीको रानीवनमा पनि पैह्रो गएको जानकारी पाइएको छ।

यसैगरी सोम चियाकमानको दोस्रो विभाग जाने मूल सड़क मार्ग पनि पैह्रोका कारण क्षतिग्रस्त बनेको छ, जसका कारण यस क्षेत्रका मानिसहरू लगभग 5 किलोमिटर टाढ़ा पर्ने सोम तेस्रो विभागको बाटो भएर दार्जीलिङ शहर आउन बाध्य बनिरहेका छन्।

सोम चियाकमानको दोस्रो विभागलाई दार्जीलिङ बजार साथै सोम चियाकमानकै प्रथम विभागसित जोड़्ने एक मात्र बाटो नै पैह्रोका कारण क्षतिग्रस्त बनेपछि यहाँका मानिसहरू पैदल यात्रा गर्दै प्रथम तेस्रो विभाग अनि दार्जीलिङ आउन परिरहेको सोम चियाकमाननिवासी सृजना तामाङले बताएकी छन्।

यसरी नै दार्जीलिङ क्षेत्रका अन्य धेरैवटा स्थानमा पनि स-साना पैह्रो गएको जानकारी पाइएको छ। तरै पनि कही कतैबाट अप्रिय घटनाको खबर पाइएको छैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here