दार्जीलिङ, 9 जुलाईः नयाँ मन्त्रिमण्डल विस्तारका लागि धन्यवाद दिँदै दार्जीलिङका भाजपा विधायक नीरज जिम्बाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गरेका छन्।
प्रधानमन्त्रीलाई लेखेको पत्रमा जिम्बाले ‘राष्ट्रकै इतिहासमा पहिलोपटक युवाहरूलाई मन्त्रिमण्डलमा सामेल गरिएको र यस ऐतिहासिक कदमले राष्ट्रको शासन प्रणालीमा नयाँ युगको थालनी भएकोले यस कदमले बद्लिँदो समयको आवश्यकतालाई पूरा गर्ने’ मात्र बताएका छैनन् तर दार्जीलिङका सांसद राजु बिष्टलाई मन्त्रिमण्डलमा समावेश नगरिएकोमा असन्तुष्टि पनि व्यक्त गरेका छन्।
जिम्बाका अनुसार राजु बिष्टका कड़ा परिश्रम, इमानदारी र समर्पणका कारण दार्जीलिङ जिल्लाका सबै पाँचैवटा विधानसभा क्षेत्रमा भाजपाले जीत दर्ता गरेको हो।
साथै सांसद राजु बिष्ट गोर्खा भएका कारण अभिभावक बनेर देशका विभिन्न प्रान्तमा बसोबास गर्ने भारतीय गोर्खाहरूले भोगिरहेका विभिन्न समस्याको समाधानका लागि निःस्वार्थ भावले कार्य गरिरहेको पनि विधायक जिम्बाले बताएका छन्।
अर्कोतर्फ नीरज जिम्बाले 2019-को लोकसभा चुनाउ र 2021 को बङ्गाल विधानसभा चुनाउको सङ्कल्प-पत्रमा भाजपाले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका लागि स्थायी राजनीतिक समाधानका लागि गरेको वाचालाई पनि स्मरण गराएका छन्।