दार्जीलिङ, १० जुलाईः विमलपन्थी गोर्खा जनमुक्ति मोर्चाको प्रतिनिधि टोलीले नगरपालिका एवं शहरी विकास मन्त्री चन्द्रिमा भट्टाचार्यसँग भेट गरी नगरपालिकाका विभिन्न विभागमा दैनिक ज्यालामा काम गर्ने डेली वेजेस वर्कर्स (दैनिक ज्याला कर्मचारी)-लाई वान टाइम पर्मानेन्ट सल्युसन (एकैपटकमा स्थायी समाधान) गर्नुपर्ने माग गरेको छ।
यसका लागि ती कर्मचारीहरूका लागि चाहिने आवश्यक दस्तावेजहरू सङ्कलन गरी फेरि केही दिनपछि मन्त्रीसँग भेट गर्ने यस प्रतिनिधि टोलीले जनाएको छ।
पार्टीका केन्द्रीय महासचिव रोशन गिरी र युमो केन्द्रीय अध्यक्ष प्रकाश गुरुङ सम्मिलित टोलीले मन्त्री भट्टाचार्यसँगको यस भेटवार्ताअवधि नगरपालिकासँग सम्बन्धित विभिन्न समस्याबारे छलफल गर्नका साथै ती समस्याहरूका समाधानका लागि पहल गरिदिने अनुरोध गरेको बताइएको छ।
यसका साथै नगरपालिकामा रहेका विमल खेमाका पार्षद्हरूसँग भेदभावपूर्ण व्यवहार भइरहेका मन्त्री चन्द्रिमा भट्टाचार्यलाई जानकारी गराउँदै नगरपालिका एउटा स्वतन्त्र निकाय भएकाले यसलाई पूर्ण रूपमा स्वतन्त्र प्रकारले चल्न दिनुपर्ने माग पनि राखेको छ।
उल्लेखनीय छ, केही दिनअघि कोलकाता गएको विमलपन्थी मोर्चा प्रतिनिधि टोलीले राज्यका विभिन्न मन्त्रीलाई भेट गरिरहेको छ।