कालेबुङ, 12 जुलाईः विमल गुरुङपन्थी मोर्चाले कालेबुङका विधायक रूदेन सादा लेप्चाले हिजो दिएका बयानको कड़ा शब्दमा भर्त्सना गरेको छ।
उल्लेखनीय छ, हिजो एक पत्रकार सम्मेलनको आयोजन गरी विधायक लेप्चाले विमल गुरुङलाई ‘राजनीतिक प्रकोप’ अर्थात ‘पोलिटिकल डिजास्टर’-को संज्ञा दिएका थिए।
यति मात्र होइन, विमलपन्थी मोर्चाको प्रतिनिधि टोलीको कोलकातामा राज्यका मन्त्री एवं तृणमूल कङ्ग्रेका शीर्षस्थ नेताहरूसँगको भेटवार्तालाई सामान्य भेटवार्ता रहेको र यो ‘फोटोसेशन’ मात्र भएकाले यसबाट पहाड़लाई कुनै प्रकारको फाइदा नपुग्ने दावी गरेका थिए।
आज एक पत्रकार सम्मेलनको आयोजन गरी यसै बयानको कड़ा शब्दमा भर्त्सना गर्दै विमलपन्थी मोर्चा केन्द्रीय सहसचिव अनिल लोप्चनले भने, “कालेबुङका विधायक रूदेन लेप्चाले एक पत्रकार सम्मेलनको आयोजन गरी विमल गुरुङलाई पोलिटिकल डिजास्टरको जुन संज्ञा दिएका छन्, त्यसलाई हामी ठाड़ो खण्डन गर्न चाहन्छौँ। विमल गुरुङ पोलिटिकल डिजास्टर हुन्, हामी स्वीकार्छौं। तर उनी जाति र गोर्खाल्याण्डका लागि होइन, तर जीटीए-दुई र गोजमुमो-दुईका लागि उनी पोलिटिकल डिजास्टर भएर आएका छन्। यो कुरा उनीहरूले यति चाँड़ै बुझे कि, त्यसबाट हतोत्साहित भएर उनीहरूले असन्तुलित बयानहरू दिनथाले।”
उनले थपे, “जसले आज विमल गुरुङलाई पोलिकिटल डिजास्टरको संज्ञा दिएका छन्, उनीहरूले रेली खोलालाई कतिको डिजास्टर गरेको छ, त्यो रेलीवासीलाई सोध्दा हुन्छ। गर्ल्स हाई स्कूलमा कतिको डिजास्टर भएको छ, त्यो गर्ल्स हाई स्कूल र कालेबुङ शहरका मानिसहरूलाई थाह छ; र अन्य क्षेत्रमा चाहे त्यो गिटी-बालुवा या अरू कुनै पनि कुरा होस्, जहाँ कहीँ डिजास्टर भएको छ भने त्यसको दायी रूदेन लेप्चा हो।”
यसैगरी अरू पार्टीको प्रतिनिधि टोलीले राज्यका मन्त्रीहरूसँग भेटवार्ता गर्दा ‘फोटोसेशन’ देख्ने रूदेन सादा लेप्चा आफैले पनि राज्यका मन्त्रीहरूसँग भेट गरी अर्जीहरू चढ़ाएर र फोटो खिचेर सोशल मिडिया र पत्र-पत्रिकामा छाएको पनि उनले बताए।
यद्यपि यसलाई आफूहरूले कहिल्यै ‘फोटोसेशन हो नभनेको पनि लोप्चनले थप बताए। किनभने कालेबुङका विधायकले कालेबुङका हितका लागि कार्य गरे, त्यो स्वागत गर्ने उनको भनाइ छ।
“हामी यतिसम्म अहम् छैनौँ, भोट जितेका दुई दिनमै हार्ने समष्टि/बुथमा कामै गर्दिन भन्ने हाम्रो मानसिकता छैन”, अनिल लोप्चनले थपे, “यो मानसिकता कालेबुङका विधायकले जति छिट्टो परिवर्तन गऱ्यो, उति राम्रो। उनी गोजमुमो-दुईका उम्मेदवार होलान्, तर जितेपछि कालेबुङका विधायक हुन्। यसैले यस्ता अहङ्कारी विधायकले जति छिट्टो आफ्नो अहम् त्याग्यो, त्यति राम्रो हुनेछ।”
यति मात्र होइन, यदि विधायक लेप्चा व्यक्ति दोषारोपणदेखि माथि उठेर कालेबुङका हितका लागि अघि आए, त्यसलाई आफूहरूले स्वागत गर्ने पनि विमलपन्थी मोर्चा केन्द्रीय सहसचिवले बताए।
अर्कोतिर, 2017 को गोर्खाल्याण्ड आन्दोलन कोलकाताको गोर्खा भवनमा बसेर तुहाउने मास्टर रूदेन लेप्चा रहेकाले यो छोटो समयमै यति धेरै सम्पत्ति थुपार्न सकेको किटान गर्दै अबउसो व्यक्तिगत दोषारोपणको राजनीति नहोस् भन्ने आफूहरूले चाहेको पनि अनिल लोप्चन बताए।
“पहाड़मा स्वास्थ राजनीति होस्। पहाड़, तराई-डुवर्सका उन्नति, क्षेत्रको स्थायी राजनीतिक समाधानतर्फ हामी सबै मिलेर लागौँ; जसले केन्द्रलाई बुझाउन सक्छन्, उनीहरूले केन्द्रलाई बुझाऊन्। जसले राज्यलाई बुझाउन सक्छन्, उनीहरूले राज्यलाई बुझाऊन्”, उनले थपे, “यसका लागि हामी सबै एक हुन आवश्यक छ। सबैका विचार र सिद्धान्त एक हुन जरूरी छ। पार्टीगत नभए तापनि वैचारिक र मुद्दामा हामी एक हौँ भन्ने सबैलाई आह्वान गर्छु।”