गान्तोक, 12 जुलाईः ‘कोरोना रोकथाम’ र ‘अर्थिक पुनर्उत्थान’ दुवै क्षेत्रमा सिक्किमको स्थिति ‘डाँवाडोल’ रहेको अवस्थाबिच पनि वर्तमान एसकेएम सरकार आफ्नो कार्यबाट हराइरहेको एसडीएफ पार्टीले आरोप लगाएको छ।
आज (सोमबार) इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी प्रवक्ता एमके सुब्बाले कोविड नियन्त्रणको कार्यमा सरकारी कार्वाही केवल मुख्य सचिवले जारी गर्ने आदेशमा मात्र सीमित रहेको र अहिलेसम्म पनि तक्निकी र मेडिकल रिपोर्ट जारी गर्न सरकार ‘असफल’ रहेको बताए।
उनले भने, “कोविड नियन्त्रण गर्न नसकेपछि सिक्किम सरकार अहिले आफै लकडाउनमा बसेको छ।” राज्यको कोरोना स्थितिलाई लिएर एसडीएफले गहिरो चिन्ता व्यक्त गरेको छ।
कोरोनाकालको 16 महिनाको अवधिमा देशमै सबैभन्दा लामो समय लकडाउनमा बसेर पनि सिक्किमको कोविड सुधारमा कुनै परिणाम नआएको सुब्बाले बताए।
उनले भने, “भारतका लगभग सबै राज्य ग्रीन जोनमा परिणत भइसके सिक्किम किन रेड जोनमा छ? लगभग 10 महिना लकडाउन बसेको फाइदा के भयो? सरकारले जबाफ दिनुपर्छ।”
राज्य प्रशासनको कार्य केवल आदेश निकाल्नमा मात्र सीमित रहेको आरोप लगाउँदै कोरोना सम्बन्धमा सरकारले साप्ताहिक रूपमा तक्निकी रिपोर्ट जारी गर्नुपर्ने सुब्बाले माग गरे।
“सिक्कममा 21 अप्रेलदेखि कोरोनाको दोस्रो लहर शुरू हुँदा सरकारले ‘यससित जुझ्न पूर्ण तयार छौँ’ भनेको थियो। 17 मईदेखि राज्यमा लकडाउन भयो। अहिले राज्यमा पोजिटिभिटी दर समग्रमा 19.1 प्रतिशत छ। दोस्रो लहरका समय राज्यमा एक सप्ताहमा 45 जनासम्म मानिसले कोरोनाका कारण ज्यान गुमाउनुपर्यो। दोस्रो लहर शुरु भएयता 177 जनाको मृत्यु भइसक्यो। सरकारले तयारी गरेको भए स्थिति यही हुन्थ्यो?”, उनले प्रश्न गरे।
राज्यमा कोरोनाको पहिलो लहरका तुलनामा दोस्रो लहर अधिक खतरनाक बनेको र सरकारी तयारी अधुरो रहेको दावी गर्दै भने, “कोरोना महामारीको पहिलो लहरसित जुझ्न सरकार तयार थिएन्, दोस्रो लहरका लागि पनि तयारी गरेन् र तेस्रो लहरको सामना गर्न पनि तयारी छैन्।”
एसडीएफ पार्टीले कोरोना महामारीसित जुझ्नका लागि विभिन्न सुझाउ दिएको तर यसलाई सरकारले केवल राजनीतिक मुद्दाका रूपमा मात्र लिएकोले नै स्थिति भयावह बनेको एमके सुब्बाले बताए।
उनले भने, “सिक्किम सरकारले ब्लेम गेम गर्नमा नै समय खर्च गर्यो तर कोविडका लागि कुनै तयार नै गरेन। अरू राज्य र विश्वले नै पहिलोपल्ट झेल्न परेको त्रासदी हो कोविड। तर अन्यले यससित लड्ने तयारी युद्ध स्तरमा गरे तर सिक्किमले भने बहाना मात्र खोज्यो; काम गरेन।”
पत्रकार सम्मेलनका अवसरमा एसडीएफ प्रवक्ता एमके सुब्बाले पार्टीको पक्षबाट सरकार समक्ष विभिन्न माग राखे।
सुब्बाको माग अनुसार सिक्किममा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाएका परिवारलाई सरकारले चार-चार लाख रुपियाँको अनुग्रह राशि दिनुपर्छ। साथै कोरोनाबाट ज्यान गुमाएका परिवारका एकजना सदस्यलाई सरकारी नोकरी दिनुपर्छ।
“कोरोनाले अभिभावकको मृत्यु भएर अनाथ भएका नानीहरूलाई सरकारले छात्रावृत्ति प्रदान गरू उनीहरूको पढ़ाइ अघि बढ़ाउनुपर्छ। साथै कोविडबाट ज्यान गुमाएका फ्रण्टलाइन वरियर्सका लागि एक करोड़ रुपियाँको अनुग्रह राशि र परिवारका सदस्यलाई सरकारी नोकरी दिनुपर्छ”, उनले माग गरे।
यसबाहेक कोरोनाबाट मृत्यु भएका 315 जनाका पीडित परिवारको स्थिति सर्वेक्षण गरी यसलाई सार्वजनिक गर्नुपर्ने एसडीएफको पक्षबाट प्रवक्ता सुब्बाले माग गरे।
उनले राज्य सरकारबाट केन्द्र सरकारलाई पठाइने स्थिति रिपोर्ट पनि सार्वजनिक हुनुपर्ने माग गरेका छन्।
यसरी नै राज्यमा लकडाउन र अनलक गर्न अघि सरकारले मेजिकल रिपोर्ट जारी गर्नुपर्ने, कोरोनाका कुन-कुन भेरियन्ट सिक्किममा छन्, त्यो सार्वजिक गरिनुपर्ने, केन्द्र सरकारको कोविड प्याकेजको सरकारले लाभ लिनुपर्ने माग गरे।
सिक्किममा कोविडको वास्तविक स्थितिलाई जाँच्नका लागि केन्द्र सरकारले पनि विशेषज्ञ टोली राज्यमा पठाउनुपर्ने उनले पार्टीको पक्षबाट माग गरे।
अर्कोतर्फ, सिक्किममा कोरोना खोपको अवस्था भने केही सन्तोषजनक रहेको बताउँदै राज्यमा सङ्क्रमण दर उच्च रहेकाले सिक्किम सरकारले केन्द्रसित 14 लाख खोपको माग गरी खोपलाई अझ तीव्र गराउनुपर्ने सुझाउ दिए।
यसैगरी मणिपाल अस्पतालसित परामर्श गरेर यहाँ आउने खोपलाई पनि सरकारले लिएर यसलाई तीव्र गराउनसक्ने एमके सुब्बाको सुझाउ छ।