दार्जीलिङ, 13 जुलाईः दार्जीलिङमा 207औं भानु जयन्ती सामान्य ढङ्गले पालन गरियो। यद्यपि, यस भानु जयन्ती समारोहको अवसरमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशअनुसार, राज्यका पछौटे वर्ग विकास एवं जनजाति विभागीय मन्त्री बुलुचिक बराइक, सिलगढ़ी नगरनिगमको बोर्ड अव् एड्मिस्ट्रेटर्सका अध्यक्ष गौतम देव, जीटीए बीओएका पूर्व अध्यक्ष अनित थापासँगै जिल्लापाल, पुलिस अधीक्षकको पनि उपस्थिति रहेको थियो।
भानु जयन्ती कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री बराइकले नेपाली साहित्यमा आदिकवि भानुभक्तको ठूलो योगदान रहेको बताए।
यसरी नै जीटीए बीओएका पूर्व अध्यक्ष अनित थापाले आफू जीटीएका अध्यक्ष रहेको समयदेखि दार्जीलिङमा जीटीए, राज्य सरकार अनि नेपाली साहित्य सम्मेलनले एकसाथ भानु जयन्ती पालन गर्न थालेको बताए।
यसै क्रममा आज स्थानीय चौरस्ताको भानु सालिगअघि राज्य र जीटीएको सूचना एवं सांस्कृतिक विभागको संयुक्त तत्वावधानमा 207औं भानु जयन्ती पालन गरिएको उनले बताए।
यस समारोहलाई सम्बोधन गर्दै मन्त्री बराइकले आफू दार्जीलिङमा पालन गरिएको भानु जयन्ती समारोहमा प्रथमपल्ट आएको बताउँदै आउँदा दिनमा भानु जयन्ती भव्यरूपले पालन गर्ने वचन दिए।
उनले भने, “राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङ पहाड़लाई साह्रै माया गर्छिन्, उनले सधैँ दार्जीलिङकतर्फ नै हेरिरहेकी हुन्छिन्। यसैकारण पनि आज यस कार्यक्रममा उपस्थित हुनका लागि हामीलाई उनले निर्देश दिएकी हुन्।”
उनले कोरोना सङ्क्रमणका कारण यसपालि भव्यरूपले भानु जयन्ती पालन गर्न नसकिएको बताउँदै आगामी दिनमा धुमधामसँगैले आदिकविको जयन्ती पालन गर्ने पनि वचन दिए।
अर्कोतिर, कालेबुङ जिल्ला कार्यालयको आयोजनामा थाना डाँडा त्रिकोण पार्क परिसरमा रहेको आदिकवि भानुभक्तको सालिगमा माल्यार्पण गरेर सामान्यरूपले भानु जयन्ती पालन गरियो, जसमा जिल्ला अधिकारी आर. बिमलाको मुख्य उपस्थिति रहेको थियो।
यसैगरी कालेबुङ नेपाली साहित्य अध्ययन समितिले पनि प्रतिवर्ष झैँ यस वर्ष पनि त्रिकोण पार्कमा अवस्थित भानुभक्तको सालिगमा खदार्पण गरी भानु जयन्ती पालन गऱ्यो, जसमा विधायक रूदेन सादा लेप्चा, समितिका अध्यक्ष ज्ञान सुतार, सचिव बलभद्र शर्मालगायत विभिन्न राजनीतिक दल, सामाजिक सङ्घ-संस्था, विद्यालय आदिका प्रतिनिधिहरू उपस्थित थिए।