भाजपा सांसद स्वपन दासगुप्तको बयानप्रति विनयको आपत्ति, भने- भाजपाले गरेको विश्वासघातको बद्ला देशभरिका गोर्खाहरूले लिनुपर्छ

0
1469
विनय तामाङ (फाइल फोटो)।

दार्जीलिङ, २४ दिसम्बर : गोर्खाल्याण्डको आश्वासन दिएर चुनाउ जितेको होइन भन्ने बयान दिएर भाजपाले गोर्खाहरूअघि आफ्नो साँचो अनुहार देखाएको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अघ्यक्ष विनय तामाङले बताएका छन्। आइतवार एक प्रेस विज्ञप्ति जारी गरी विनय तामाङले यस्तो बताएका हुन्।

विज्ञप्तिमा तामाङले पत्रकारहरूले भाजपाका राज्यसभा सांसद स्वप्न दासगुप्तलाई गोर्खाल्याण्डको मुद्दाबारे भाजपाको अड़ानबारे प्रश्न गर्दा ती भाजपा नेताले यस्तो बयान दिएको पनि बताएका छन्।

विज्ञप्तिमा उनले लेखेका छन्, “भाजपाले कहिल्यै गोर्खाल्याण्डको आश्वासन दिएर चुनाउ जितेको होइन, तर शक्तिशाली क्षेत्रीय स्वायत्त शासनको कुरा हो भनेर उनले (स्वप्न दासगुप्त) गोर्खाल्याण्डको मुद्दालाई सोझै नकारिदिए, जुन गोर्खाहरूका लागि अति नै दुर्भाग्यपूर्ण बयान हो। भाजपाले गोर्खाल्याण्डको सन्दर्भमा गोर्खाहरूलाई दिएको आश्वासनकै कारण दार्जीलिङवासीले दुई दुईजना सांसद भाजपालाई दिएका हुन्। यसबाहेक देशभरिका गोर्खाहरूले पनि भाजपाको सोही आश्वासनमाथि विश्वास गरी विभिन्न गोर्खाबाहुल राज्यमा भाजपालाई जिताउन सघाएको हो, तर १० वर्षसम्म गोर्खाहरूलाई गोर्खाल्याण्डकै आशा भरोसामा बाँधिराखेर अहिले आएर यस्तो विश्वासघाती बयान दिएकोमा भाजपा सांसद अनि भाजपाको हामी घोर विरोध गर्दछौं।’’

यदि भाजपाले गोर्खाहरूलाई गोर्खाल्याण्डको आश्वासन दिएर चुनाउ जितेको होइन भने प्रधानमन्त्री नरेन्द्र मोदीले सिलगढ़ीको जनसभामा ‘गोर्खाको सपना मेरो सपना’ भनेर कुन सपनाको कुरा गरेका थिए भन्ने पनि विनयले प्रश्न गरेका छन्।

“सन् २००९ र २०१४-मा लोकसभा चुनाउमा भाजपाले आफ्नो चुनावी घोषणा-पत्रमा दार्जीलिङ अनि तराई-डुवर्सवासीको लामो समयदेखि थाँतीमा रहेको मागलाई सहानुभूतिपूर्वक निरीक्षण गरी समाधान गरिनेछ भनेर किन उल्लेख गऱ्यो? केन्द्र सरकारले गोर्खाल्याण्ड निरीक्षण कमिटी गठन गर्ने आश्वासन किन दियो?”, उनले थपे, “लोकसभा चुनाउको प्रचारको समयमा नै पूर्व सांसद जसवन्त सिंहले ‘गोर्खाल्याण्ड ले के रहेगें’ भनेर हजारौं गोर्खाको अघि भनेका हुन्। सांसद एसएस अहलुवालियाले समेत चुनावी सभाहरूमा सयौंपटक गोर्खाल्याण्डका कुरा गरेका हुन्। यी सबै बयान के झूटा हुन्? यसबाहेक गोर्खाहरूको समस्या  राज्यको विषय हो भनेर भाजपाका राज्यसभा सांसद स्वपन दासगुप्त पत्रकारहरूलाई बयान दिएका छन्।”

१० वर्षसम्म राजनीतिक स्वार्थका लागि प्रयोग गरी अहिले आएर गोर्खाहरूको समस्या राज्यको विषय हो भनेर पन्सिन खोजेको भन्दै गोजमुमोले भाजपाको यस्तो छेपारो घोर विरोध गर्ने तामाङले विज्ञप्तिमा बताएका छन्।

उनले थप भनेका छन्, “१० वर्षको अवधिमा दुई दुईपटक गोर्खाहरूले चुनाउमा सघाउँदा भाजपाले किन गोर्खाहरूको समस्या राज्यको विषय हो भनेर भनेन? यदि गोर्खाहरूको समस्या राज्यको विषय थियो भने विमल गुरुङ/रोशन गिरीहरूको काँधमा बन्दुक थमाएर भाजपाले किन राज्य सरकारविरुद्ध आन्दोलन गर्न उक्साइरह्यो? गोर्खाहरूलाई यति लामो समयसम्म राज्य सरकारसित विद्रोह गर्न लगाएर अहिले गोर्खाहरूको समस्या राज्यको विषय हो भन्छ भने भाजपा १० वर्षको आन्दोलन अवधि शहीद बएका गोर्खा दाजु-भाइका हत्यारा हो।’’

गोर्खा युवा पिँढ़ीले गोर्खाल्याण्डका लागि भनेर समर्पण गरेको सुनौलो भविष्य बिगार्ने पनि भाजपा नै रहेको विनयको ठोकुवा छ।

उनका अनुसार विमल गुरुङले भाजपाकै भरोसामा पहाड़मा हिंसक आन्दोलन गरेका हुन् साथै अहिले विमल गुरुङलाई आश्रय दिएर राख्ने पनि भाजपा नै हुन्। यी सबैको जिम्मेवारी भाजपाले लिनुपर्ने विनयको भनाइ छ।

“गोर्खाहरूको आशा-भरोसा, विश्वास सबै चुसिसकेर भाजपाले अहिले आएर आफ्नो असली रङ देखाइरहेको छ। भाजपाको यो छेपारो रङमा भुलिएर विमल गुरुङ, रोशन गिरीले गोर्खाहरूको १० वर्ष बेकार फ्याँकिदिएका छन्। अब राष्ट्रभरिका गोर्खाहरूले विश्वास आशा—भरोसामाथि भाजपाले गरेको विश्वासघातको बद्ला लिनुपर्नेछ। भाजपालाई प्रत्येक क्षेत्रमा गोर्खाहरूले बहिष्कार गरी प्रतिशोध लिनपर्नेछ”, विनय तामाङले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here