सिक्किममा भानु जयन्ती पालन

0
893

गान्तोक, 13 जुलाईः नेपालीभाषी समुदायमा भानुभक्तको योगदान अमूल्य रहेको सिक्किमका राज्यपाल गङ्गा प्रसादले बताएका छन्।

आदिकवि भानुभक्त आचार्यको 207औँ जन्म जयन्तीका अवसरमा आज गान्तोकमा पत्रकारहरूसित कुराकानी गर्दै राज्यपालले आदिकवि सबैका हृदयमा रहिरहने पनि बताए।

साथै राज्यपालले भानुभक्त आचार्यद्वारा नेपाली भाषामा अनूदित रामायणलाई सबैले अध्ययन गरेर ज्ञान प्राप्त गर्नुपर्ने आह्वान पनि गरे।

भानु जयन्तीका अवसरमा आज बिहान राजधानीको जिरो पोइन्टस्थित भानु उद्यानमा संक्षिप्त कार्यक्रम आयोजन गरिएको थियो।

कार्यक्रममा राज्यपाल गङ्गा प्रसाद मुख्य अतिथि र मुख्यमन्त्री पीएस गोले विशिष्ट अतिथि थिए।

कार्यक्रममा सिक्किम विधानसभा अध्यक्ष एलबी दास, उपाध्यक्ष साङ्गे लेप्चा, मन्त्रीहरू, लोकसभा सांसद इन्द्रहाङ सुब्बा, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव, गोपनीय सचिव, विभागीय प्रमुखहरू, नेपाली साहित्य परिषद्का प्रतिनिधिहरू आदि पनि उपस्थित थिए।

यस अवधि राज्यपाल र मुख्यमन्त्रीलगायत उपस्थित अतिथिहरूले आदिकवि भानुभक्त आचार्यको सालिकमा खदार्पण गरेर श्रद्धाञ्जली अर्पित गरे।

 मुख्यमन्त्री पीएस गोलेले भानु जयन्तीका अवसरमा सिक्किमेली जनतालगायत देशवासीमा बधाई व्यक्त गरे।

उनले कोरोना महामारीको कारणले 2020 मा पनि भानु जयन्ती भव्यरूपमा मनाउन नपाएको र यो वर्ष पनि सामान्य रूपमा मनाइएको बताए।

भानु पुरस्कारका लागि पूर्व सांसद दिलकुमारी भण्डारीलाई बधाई दिॅंदै नेपाली साहित्य परिषदले पुरस्कारका लागि सही व्यक्तिको नाम चयन गरेको मुख्यमन्त्रीले बताए।

नेपाली भाषालाई मान्यता दिलाउन दिलकुमारी भण्डारीको योगदान उल्लेखनीय रहेको बताउॅंदै उनलाई पहिले नै भानु पुरस्कारले सम्मानित गरिनुपर्ने थियो भन्ने मुख्यमन्त्रीले बताए।

अर्कोतर्फ राज्यका अन्य विभिन्न ठाउँमा पनि भानु जयन्ती पालन गरिएका समाचार प्राप्त भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here