भानुजयन्तीको ‘निम्तो’ -ले पहाड़मा रड़ाको

0
1232

दार्जीलिङ, 14 जुलाईः राज्य र जीटीएको सूचना एवं संस्कृति विभागले संयुक्त रूपमा दार्जीलिङको चौरस्तामा आयोजन गरेको भानु जयन्ती कार्यक्रममा अनित थापालाई मात्र निम्तो गरिएको घटनाले पहाड़मा राजनीतिक तरङ्ग सृजना गरेको छ।

कार्यक्रममा राज्यका मन्त्री बुलुचिक बराइक र सिलगढ़ी नगरनिगमको बोर्ड अव् एड्मिनिस्टेटर (बीओए)-का चेयरम्यान गौतम देवसँगै विनयपन्थी मोर्चाका जीटीएका पूर्व अध्यक्ष एवं महासचिव अनित थापालाई निम्तो गरिएको थियो।

सार्वजनिक कार्यक्रममा पहाड़बाट किन अनित थापालाई मात्र बोलाइयो भन्ने कुराले अहिले चर्चा पाइरहेको छ। अनित थापालाई मात्र बोलाइनुका कारण भने खुलिएको छैन।

यसैबिच, हिजोको भानु जयन्ती कार्यक्रममा अनित थापालाई मात्र निम्तो गरिएको घटनाबारे आक्रोश पोख्दै हिल तृणमूल नेतृ एवं राज्यसभा सांसद शान्ता छेत्रीले पार्टी सुप्रिमो एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी र पार्टी महासचिव अभिषेक ब्यानर्जीलाई पत्राचार गरेकी छन्।

उनको आक्रोश के भयो भने यस कार्यक्रममा न उनलाई निम्तो गरियो न त विमल गुरुङ, एलबी राई र विनय तामाङलाई नै बोलाइयो। भेदभाव गरेर किन एकजनालाई मात्र निमन्त्रणा दिने कार्य गरियो।

 “सार्वजनिक कार्यक्रममा किन अनित थापालाई मात्र निम्तो गरियो?”, जनसंवादसँग टेलिफोनिक कुराकानीअवधि छेत्रीले प्रश्न गरिन्, “म पनि सांसद हुँ, तर मलाई किन भानु जयन्ती कार्यक्रममा बोलाइएन? अथवा हिल तृणमूल कङ्ग्रेसका अध्यक्ष एवं मिरिक नगरपालिकाका अध्यक्ष एलबी राईले पनि किन बोलाइएन?”

उनले थप प्रश्न भनिन्, “यदि जीटीएका पूर्व अध्यक्ष निम्तो गरिएको हो भने विनय तामाङ र विमल गुरुङलाई चाहिँ किन निम्तो गरिएन?”

यदि बोलाउनु थियो भने सबैलाई बोलाउनुपर्ने उनको भनाइ छ।

साथै यसरी अन्यलाई छुट्याएर एकजनालाई मात्र कार्यक्रममा बोलाउँदा जनतामा नकारात्मक सन्देश जाने बताउँदै यस्तो गरिनु अत्यन्त दुखद कुरा भएको हिल तृणमूल नेतृ एवं राज्यसभा सांसद शान्ता छेत्रीले बताएकी छन्।

उल्लेखनीय छ, हिजो चौरस्तामा आयोजना गरिएको भानु जयन्ती समारोह समाप्त भएको केही समयपछि विमल गुरुङ पनि त्यहाँ पुगेर भानु सालिगमा श्रद्धार्पण गरेका थिए। यद्यपि, यसबारे विमल गुरुङपन्थी गोजमुमोले अहिलेसम्म आफ्नो मुख खोलेको छैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here