दार्जीलिङ, 15 जुलाईः विनय तामाङले आफ्नै पार्टी गोजमुमो दोस्रो खेमाबाट आज राजीनामा दिए।
उनले अबदेखि गोजमुमो विनय खेमा पनि नभनिदिने जनतासमक्ष अपील गरे अनि आफ्नो घरमा रहेको पार्टीका सम्पूर्ण झण्डाहरू यस पार्टीका ओरिजिनल मालिक विमल गुरुङको पार्टी कार्यालय पातलेबासमा पुऱ्याइदिने पनि वचन दिए।
विनयले गोजमुमोका असली मालिक विमललाई बताउँदै थप भने, “गोजमुमोका असली मालिक विमल गुरुङ हुन् अनि असली मालिक आएपछि पार्टीको झण्डाको रक्षा गर्ने मेरो दायित्व पूरा भएको छ।“
यसैबिच, उनले आज पार्टी उपाध्यक्ष सतीश पोख्रेल, पार्टी महासचिव अनित थापाको नाममा जारी गरिएको राजीनामा-पत्रको प्रतिलिपि गोजमुमो अध्यक्ष विमल गुरुङ अनि महासचिव रोशन गिरीलाई पनि पठाउने घोषणा गरे।
आजदेखि गोजमुमोबाट विनय तामाङपन्थी शब्द हटिएको घोषणा गर्दा उनी रोए पनि साथै शीघ्रै उनले नयाँ राजनीतिक जीवन शुरू गर्ने पनि घोषणा गरे।
विनयका तामाङका अनुसार उनलाई दार्जीलिङ पहाड़को राजनीतिबाट हटाउने या पहाड़को राजनीतिमा हाबी हुन न दिने षड्यन्त्र 2019-को जनवरी महिनाकै भइरहेको पनि थियो।
“आजदेखि मैले गोजमुमो दोस्रो खेमाका अध्यक्ष पद मात्रै होइन, साधारण सदस्यता पनि राजीनामा दिएको हो। 2017-मा दार्जीलिङ पहाड़का जनता साथै गोजमुमोको झण्डाको रक्षा गर्नका लागि नै मैले त्यस्तो निर्णय लिनपरेको थियो, त्यस समयदेखि हालसम्म यो झण्डाको मैले चौकीदारी मात्रै गरेको थिएँ”, उनले थपे, “आज यसको ओरिजिनल मालिक आएपछि मेरो जिम्मेवारी समाप्त भएको छ। यसैले मेरो घरमा रहेका पार्टीका सम्पूर्ण झण्डा विमल गुरुङलाई सुम्पिनेछु।”
यसैगरी, उनले आफू भारतीय जनता पार्टीमा सामेल हुने चलेको हल्लालाई केवल अफवाह हो बताए।
“म तृणमूल कङ्ग्रेसमा पस्छ भन्ने हल्ला पनि थियो। तर, यदि मैले भाजपा र तृणमूल कङ्ग्रेसमा सामेल हुनका लागि कोसित कुरा गरेको थिएँ, कसैसित यसको प्रमाण छ भने त्यो सार्वजनिक गर्न सक्नेछन्”, विनयले थपे।
तामाङले शीघ्रै नयाँ राजनीतिक जीवन शुरू गर्ने आज बताए पनि यसबारे केही खुलाएनन्। यसको घोषणा समय आएपछि नै गर्ने पनि उनले जनाए।
“33 वर्षको राजनीतिक जीवनको शुरूआत मैले गोर्खा राष्ट्रिय मुक्ति मोर्चाबाट गरेको थिएँ, जुन पार्टीबाट 1999-मा मैले राजीनामा दिएको थिएँ। गोरामुमोबाट राजीनामा दिने निर्णय मेरो व्यक्तिगत थियो भने 2007-मा गोजमुमोको स्थापना गर्ने निर्णय पनि मेरो व्यक्तिगत थियो। यसैले आज मैले यो निर्णय पनि व्यक्तिगत रूपमा लिएको हो। गोरामुमोबाट मेरो प्रथम राजनीतिक अध्याय शुरू भएको थियो भने दोस्रो अध्याय गोजमुमो थियो। अब शीघ्रै मेरो तेस्रो राजनैतिक अध्याय शुरू हुनेछ”, विनयले भने।
पत्रकार सम्मेलनअवधि तामाङले आफ्नो राजनीतिक गुरु गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङ र गोर्खा लीगका दिवङ्गत नेता मदन तामाङ रहेको बताउँदै उनीहरूकै मार्गनिर्देशनमा आफूले राजनीति गरिरहेको बताए।
यसगैरी आज बिहान मात्रै घर वरिपरि टाङ्गिएका पार्टीका सबै झण्डा पनि हटाएको तामाङले बताए।
यसैबिच, पार्टी महासचिव अनित थापाले विनय तामाङले राजीनामा किन दिए भन्नेबारे आफूलाई केही थाह नभएको बताएका छन्।
“2017-मा मैले विनय तामाङको नेतृत्वलाई स्वीकार गरेर नयाँ सोच-नयाँ विचारको नीतिलाई अप्नाएर अघि बढ़ेको थिएँ”, उनले थपे, “म झण्डा बचाउन होइन, पहाड़लाई बचाउन अघि आएको थिएँ।”
यद्यपि, भोलि पार्टी केन्द्रिय समितिको एक बैठक गरेर भावी रणनीतिबारे चर्चा परिचर्चा गर्ने निर्णय गरिएको पनि अनित थापाले बताए।