दार्जीलिङ, 15 जुलाईः गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमाका नेता सञ्जय थुलुङले पनि पार्टी छाड़ेका छन्।
उनले पनि सम्पूर्ण पदसँगै पार्टीका साधारण सदस्यबाटै राजीनामा दिएका छन्। उनी युवा मोर्चा केन्द्रीय समितिका मुख्य सल्लाहकार पदमा थिए।
थुलुङले आफ्नो आधिकारिक सोशल मिडिया अकाउन्ट फेसबुकमा एक पोस्ट लेखेर राजीनामा दिएको घोषणा गरेका हुन्।
उनले फेसबुक पोस्टमा लेखेका छन्-अध्यक्षको राजीनामा सार्वजनिक भए पश्चात् म आजदेखि गोर्खा जनमुक्ति मोर्चा विनय खेमाका सम्पूर्ण पद साथै साधारण सदस्यमा आबद्ध नरहने यो सामाजिक सञ्जालबाट सबैमा सार्वजनिक गर्दछु। जय गोर्खा जय गोर्खाल्यान्ड!!’
पहिला अध्यक्ष विनय तामाङ र त्यसपछि युवा नेता सञ्जय थुलुङले पार्टी छाड़ेपछि मोर्चा दोस्रो खेमालाई ठूलो झट्का लागेको छ।
उल्लेखनीय छ, केही दिनयता मोर्चा दोस्रो खेमाका एकपछि अर्का नेतृत्वले राजीनामा दिइरहेका छन्।