खरसाङ, 16 जुलाईः पार्टीका अध्यक्ष पदसँगै साधारण सदस्य समेतबाट विनय तामाङले राजीनामा दिएपछि आज खरसाङमा बसिएको गोजमुमो दुईको आपत्कालीन बैठकमा अनित थापालाई सर्वसम्मतिले कार्यवाहक अध्यक्षको थप पदभारमा मात्र दिएको छैन, तर विनय तामाङले केही दिनअघि भङ्ग गरेका कमिटीहरूलाई पुनर्बहाल पनि गरेको छ।
कमिटीहरू भङ्ग गर्ने ‘विनय तामाङको एकल निर्णय’ बताउँदै गोजमुमो दुईले ती कमिटीहरूलाई पुनर्वहाल गरेको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै पार्टी प्रवक्ता केशवराज पोख्रेलले जानकारी गराए। साथै अबउसो अनित थापाको नेतृत्वमा पार्टी आफ्नो सोच र विचारमा अघि बढ़्ने पनि उनले बताए।
पोख्रेलले जानकारी गराएअनुसार आजको बैठकमा विनय तामाङको राजीनामालाई पार्टीले स्विकारेको छ भने पूर्ण अध्यक्ष चयन नभएसम्म पार्टीका महासचिव र कार्यवाहक अध्यक्ष दुवै पदमा अनित थापा बस्नेछ।
अर्कोतिर उनले विनय तामाङको बयानमाथि कुनै टीकाटिप्पणी गर्न चाहेनन्। साथै आजको बैठकमा 99 प्रतिशत नेतृत्व उपस्थित रहेको र अनुपस्थित रहेका नेतृत्वहरूले पनि अनुपस्थित हुनुका कारणबारे जानकारी गराएको उनको दावी छ।
यसैबिच प्रवक्ता केशवराज पोख्रेलले निकट भविष्यमा ठूल्ठूला र दिग्गज व्यक्तिहरूलाई पार्टीमा सामेल गराएर सुनामी ल्याउने ठोकुवालाई दोहोऱ्याए।
अब पार्टीको नाम के राख्ने भन्नेबारे सोधिएको प्रश्नको उत्तर दिँदै पोख्रेलले भने, “हाम्रो पार्टीको नाम गोजमुमो हो, बीचमा यो विनय तामाङपन्थी र विमल गुरुङपन्थी भएको थियो। तरै पनि हामीले पन्थीमा कुनै विश्वास गरेका थिएनौँ। अब यो पार्टीलाई जनताले के नाम दिने हो, त्यो जनताकै इच्छा हो।
उल्लेखनीय छ, विनय तामाङले हिजो गोर्खा जनमुक्ति मोर्चाको साधारण सदस्यताबाट पनि राजीनामा दिएपछि एकाएक दार्जीलिङ पहाड़को राजनीतिक माहोलमा उथुल-पुथुल मच्चिएको छ।
विनय तामाङले अबोप्रान्त गोजमुमोलाई विनय तामाङपन्थी भनेर सम्बोधन पनि नगर्ने आह्वान गर्दै पार्टीको झण्डासमेत विमल गुरुङलाई फर्काइदिएपछि अझ पहाड़को राजनीति रोचक बनेको छ।
अनित थापाहरूले अब आफ्नो पार्टीको नाम के राख्ने? भन्ने विषय लिएर पनि चर्चा चुलिएको छ।
यसैकारण अनित थापाहरूले शीघ्रै आफ्नो पार्टीलाई नयाँ नाम दिने सम्भावना पनि बढ़ेर गएको छ। तर यसको ठीक विपरीत विनय तामाङको राजनैतिक भविष्य अब के हुन्छ? भन्ने प्रश्नले पनि निकै महत्त्व पाएको छ। किनभने, विनय तामाङ विमल गुरुङको नेतृत्वमा रहेको गोजमुमोमा पनि फर्किन सक्ने अवस्था छैन। आफ्नै नयाँ पार्टी खोल्नसक्ने सम्भावना पनि छ, तर यसमा पनि उनलाई ठूलै चुनौतीको सामना गर्नपर्ने वर्तमान पहाड़को स्थितिले बताइरहेको छ।
तब के उनी भाजपा वा तृणमूल कङ्ग्रेसमा सामेल हुन्छन्? यो प्रश्न धेरैले गरिरहे पनि विनय तामाङले यसलाई हिजो नै अस्वीकार गरिसकेका छन्।
यसैले अब विनय तामाङले नयाँ पार्टी खोल्ने हुन् कि अनित थापाको नयाँ पार्टी हुन्छ, त्यो आगामी दिनमा नै छर्लङ्ग हुनेछ।