दार्जीलिङका बजारहरू सप्ताहमा एक दिन बन्द रहने

0
1014

दार्जीलिङ, १८ जुलाईः दार्जीलिङ जिल्ला प्रशासनले जिल्लाभित्रका सम्पूर्ण बजारहरूलाई सप्ताहको एक दिन पूर्णरूपले बन्द राख्ने घोषणा गरेको छ। यद्यपि, सप्ताहको कुन दिन बजार बन्द राख्नुपर्ने हो भन्नेबारे क्षेत्रीय प्रशासनहरूले सम्बन्धित क्षेत्रका व्यवसायीवर्गसित सल्लाह गरी निर्णय लिने भएको दार्जीलिङका जिल्लापाल एस. पन्नमबालमले जानकारी गराएका छन्।

उनले बजार बन्द राखिएका दिन ती बजारहरूलाई पूर्णरूपले सेनिटाइज गर्ने व्यवस्था गरिने भएको पनि बताएका छन्।

यसै क्रममा शनिबार सुकेपोखरी बजारलाई सेनिटाइज गरिएको पनि जिल्लापालले बताएका छन्।

यसैबिच, जिल्लापालले सिलगढ़ीको वार्ड नम्बर २४-मा पर्ने फुलेश्वरी बजारलाई एक सप्ताहसम्म बन्द राखिएको सम्बन्धमा भने, “यस क्षेत्रमा कोरोना सङ्क्रमितहरूका सङ्ख्या धेरै भएका कारण नै यहाँ एक सप्ताहव्यापी बन्द गर्ने घोषणा गरिएको हो; जुन बन्द भोलि सोमबारदेखि शुरू हुने भएको छ। यस क्षेत्रमा धेरै सङ्क्रमितहरूको भएका कारण यस क्षेत्रलाई कन्टेनमेन्ट जोन घोषणा गरिएको छ।“

अर्कोतर्फ दार्जीलिङ जिल्ला पुलिसले मास्क नलगाउने, सामाजिक दुरीका नियम पालन नगर्नेहरूविरुद्ध कठोर कारबाही शुरू गरेको छ।

यसै क्रममा दार्जीलिङ पुलिसले दार्जीलिङ पहाड़सँगै सिलगढ़ी क्षेत्रबाट हिजो मास्क नलगाउने कुल २६६ जना तथा सामाजिक दुरी पालन नगर्ने कैयौँलाई पक्राउ गरेर डिजास्टर म्यानेजमेन्ट ऐनअनुसार, मुद्दा दर्ता गरेको दार्जीलिङ पुलिस अधीक्षकले जानकारी गराएका छन्।

उनले दार्जीलिङ सदर पुलिसले मास्क नलगाइ बजार घुम्ने कुल १२२ जना पक्राउ गरेको बताएका छन् भने जिल्लाभरि मास्क नलगाएको अभियोगमा पक्राउ पर्नेहरूका सङ्ख्या २६६ रहेको पनि बताएका छन्।

यति मात्रै होइन, दार्जीलिङ पुलिसले दार्जीलिङ आउने पर्यटकहरूका लागि सिमलबारीमा आरटीपीआर जाँच शुरू गरेको पनि पुलिस अधीक्षकले जानकारी गराएका छन्।

यसका साथै दार्जीलिङ पुलिसले दार्जीलिङका होटलहरूलाई आफ्नो होटलमा आउने पर्यटकहरूको आरटीपीसीआर नेगिटिभ रिपोर्ट माग्ने पनि निर्देश दिएको छ; जोससित आरटी-पीसीआरको नेगिटिभ रिपोर्ट हुँदैन, त्यस्ता पर्यटकहरूलाई होटलमा नराख्ने पनि पुलिसले होटल मालिकहरूलाई निर्देश दिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here