गोजमुमोका भूमिपुत्र उम्मेद्वारले डेढ़ लाख भोटको अन्तरले लोकसभा चुनाउ जित्ने विनय तामाङको ठोकुवा

0
1109
बीआर देवानको स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उपस्थित मोर्चाका नेताहरू।

दार्जीलिङ, 25 फरवरी : आगामी लोकसभा चुनाउमा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका उम्मेद्वारलाई डेढ़ लाख भोटको अन्तरले विजयी बनाउने यसका अध्यक्ष विनय तामाङले ठोकुवा गरेका छन्। सोमवार चुङथुङ चियाबारीमा स्व. बीआर देवानको स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै विनयले यस्तो दाबी गरेका हुन्।

यसका साथै उनले यसपटक गोजमुमोले भूमिपुत्र उम्मेद्वारलाई नै लोकसभा चुनाउमा दार्जीलिङ पहाड़का उम्मेद्वार बनाउने स्पष्ट पारे। आफ्नो सम्बोधनअवधि उनले भूमिपुत्रकै माग गरिरहेका पहाड़का अन्य राजनीतिक दलहरूमाथि कटाक्ष पनि गरे।

उनले भने,  “अहिले पहाड़का 16 वटा राजनीतिक पार्टीले एक भएको भन्दै साझा भूमिपुत्र उम्मेद्वारको कुरा गरिरहेका छन्, तर हामीले उठाएको उम्मेद्वारले डेढ़ लाख मतको अन्तरले लोकसभा चुनाउमा जीत दर्ता गर्नेछन्। यो कुरा ती सबै पार्टीले लेखेर राख्दा हुन्छ।”

विनय तामाङका अनुसार  गोजमुमोले सन् 2009 को लोकसभा भाजपाका उम्मेद्वार जसवन्त सिंहलाई 2.17 लाख तथा 2014 –मा भाजपाकै उम्मेद्वार एसएस अहलुवालियालाई 1.76 लाख भोटको अन्तरले  जिताएको थियो। “तर अब भाजपाले हिसाब निकाल्दा हुन्छ, गोजमुमोले खड़ा गरेको भूमिपुत्र उम्मेद्वार 1.5 लाखभन्दा अधिक मतले विजयी हासिल गर्नेछन्”, उनले भने।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले  बीआर देवानको सालिकको निर्माणकार्य एकसाताभित्र शुरु गर्ने निर्देश दिएका छन्। साथै उनले सन् 1955 –मा मार्गरेट्सहोप गोलीकाण्डमा ज्यान गुमाउने श्रमिकहरूको सालिक पनि निर्माण गरिने बताए। यसका लागि स्थान चयन गर्ने जिम्मा श्रमिक सङ्गठनलाई दिएका छन्।

आजको श्रद्धाञ्जली कार्यक्रममा पार्टीका शीर्ष पदाधिकारीहरूको पनि उपस्थिति थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here