दार्जीलिङ, 20 जुलाईः गोर्खा जनमुक्ति मोर्चा पहिलो खेमाका अध्यक्ष विमल गुरुङले कालेबुङ जिल्ला प्राथमिक पाठशाला परिषद् कालेबुङमा नै हुनुपर्ने मागमा मङ्गलबार राज्यका शिक्षामन्त्री ब्रात्य बसुलाई पत्राचार गरेका छन्।
गुरुङले आफ्नो पत्रमा १४ फरवरी २०१७-मा पश्चिम बङ्गालका २१औँ जिल्लाको रूपमा कालेबुङ जिल्ला गठन भए पनि आजसम्म कालेबुङ जिल्ला प्राथमिक पाठशाला परिषद् भने दार्जीलिङमै रहेको बताएका छन्।
यसैले कालेबुङवासीहरूले भोग्न परिरहेका समस्या समाधानका लागि आफूले यो माग उठाएको उनले बताएका छन्।
विमलले पत्रमा भनेका छन्,-कालेबुङ जिल्ला गठन भएपछि केही जिल्लास्तरीय शैक्षिक संस्थानहरू बनिए अनि त्यसबाट स्थानीय बासिन्दा धेरै लाभान्वित पनि बनेका छन्। तर, प्राथमिक पाठशाला एवं शिशु शिक्षा केन्द्रहरू अहिले पनि दार्जीलिङ जिल्लाकै प्राथमिक पाठशाला परिषद्को अधीन रहेकाले धेरै समस्याहरू उत्पन्न भएका छन्। कालेबुङ जिल्लाका तीनवटा खण्ड कालेबुङ-१, कालेबुङ-२ अनि कालेबुङ-३ र गोरुबथानका कतिपय क्षेत्र अत्यन्त दुर्गम छन्। ती क्षेत्रहरूबाट कतिपय सरकारी कार्यहरू गर्न दार्जीलिङ जानपर्दा शिक्षक साथै जनसाधारणले धेरै असुविधा भोग्नपर्छ।
यसै विषयलाई ध्यानमा राखेर पश्चिम बङ्गाल प्राथमिक शिक्षा ऐन-१९७३ अन्तर्गत कालेबुङ जिल्लामै प्राथमिक पाठशाला परिषद् गठन गरिए उचित हुने गुरुङले पत्रमा लेखेका छन्।
उनले पत्रमा उल्लेख गरेका छन्-सिलगढ़ी दार्जीलिङ जिल्लाकै एउटा महकुमा हो, तरै पनि यहाँ छुट्टै परिषद् गठन गरिएको छ। यसैले यस विषयलाई गम्भीरतापूर्वक लिएर कालेबुङ जिल्लाका लागि छुट्टै जिल्ला प्राथमिक पाठशाला परिषद् गठनका लागि उचित पहल गर्नपर्छ।