दार्जीलिङ, 20 जुलाईः दार्जीलिङका सांसद राजु बिष्टले आज संसदमा नियम 377 अन्तर्गत देशको संवेदनशील मानिने ‘चिकेन नेक’ करिडोरबाट हुने लागु पदार्थ, हात-हतियार, सुन, प्रतिबन्धित वस्तु तथा मानव तस्करीका बढ्दा घटनाहरूसित सम्बन्धित गम्भीर विषयको उठान गरेको जानकारी दिएका छन्।
यी विषयहरूमाथि संसदको ध्यानाकर्षण गराउँदै आफूले दार्जीलिङ लोकसभा निर्वाचन क्षेत्र राष्ट्रको अत्यन्तै संवेदनशील क्षेत्रको मुटुमा रहेको अनि नेपाल, भूटान, बङ्ग्लादेश र तिब्बत (चीन)-सँग अन्तर्राष्ट्रिय सीमा जोड़िएको देशमै एकमात्र यस्तो क्षेत्र रहेकाले यसको महत्त्वमाथि प्रकाश पारेको बताएका छन्।
यस सम्बन्धमा बिष्टले आज प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्, -दुर्भाग्यवश, बितेका केही वर्षदेखि यो क्षेत्र लागु पदार्थ, हात-हतियार, सुन, प्रतिबन्धित वस्तुहरू र मानव तस्करीका लागि दुरुपयोग भइरहेको छ। कुख्यात गोल्डन ट्रायङ्गलबाट यस मार्गको प्रयोग गर्दै लागु पदार्थ र प्रतिबन्धित वस्तुहरू भारतमा छिराइँदै छ। यसको परिणामस्वरूप, क्षेत्रमा लागु पदार्थहरूका सहज उपलब्धताका कारण दिनप्रतिदिन हाम्रा युवाहरू यसको कुलतमा परिरहेका छन् अनि हजारौँ परिवार लथालिङ्ग भएका छन्। लागु पदार्थका साथै मानव तस्करी पनि यस मार्गबाट बढ़िरहेको छ।
लागु पदार्थको तस्करीबाट हुने कमाइ राष्ट्रविरुद्ध हुने आतङ्की गतिविधिहरू चर्काउनमा प्रयोग गरिँदै आएको बिष्टले सदलनाई जानकारी गराएका छन्।
साथै क्षेत्रमा लागु पदार्थको प्रसार एवं अन्य थरीका तस्करीहरूमा नार्को-टेरर गुटहरूको चलखेल रहेको भान हुँदछ भन्ने उनले सदलाई बताए।
बिष्टले भनेका छन्, -लागु पदार्थको यस्तो बढ्दो समस्याको बावजुद पश्चिम बङ्गाल सरकारले यस्तो गम्भीर समस्यातिर आँखा चिम्लेको छ अनि तस्करहरूका मुलीहरूविरुद्ध कुनै कारबाही गर्न अस्वीकार गरेको छ।
उनले थप भनेका छन्, -हालैमा मेरो क्षेत्रका जनताले राजनीतिक नेताहरू अनि सत्तामा रहेका व्यक्तिसित जोड़िएका मानिसहरू नै लागु पदार्थहरूको तस्करीमा संलिप्त छन भनी गहिरो चिन्ता साझा गरेका थिए। त्यसैमाथि, पुलिसले पनि राजनीतिक दबावको कारण लागु पदार्थ तस्करीविरुद्ध निष्पक्ष जाँच गर्न सक्षम हुन नसक्ने डर स्थानीय जनताले व्यक्त गरेका छन्।
यसै विषयलाई ध्यानमा राखेर आफूले केन्द्रीय गृह मन्त्रालयलाई दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रमा लागु पदार्थ लगायत अन्य तस्करीहरूको सञ्जालबारे केन्द्रीय एजेन्सीहरू साथै नार्कोटिक्स कन्ट्रोल ब्युरोद्वारा गहन एवं निष्पक्ष जाँच गराउने अनुरोध गरेको पनि जानकारी दिएका छन्।