कालेबुङ, २१ जुलाईः आज राति परेको मुसलधारे पानीका कारण २९ माइलमा फेरि पैह्रो झर्दा राष्ट्रिय राजमार्ग १० बन्द भएको छ।
टिस्टा आउटपोस्टका एसआई भिमेश तामाङले जानकारी गराएअनुसार राति करिब २ बजीतिर पैह्रो झरेको हो।
पैह्रोका कारण यातायात बाधित बनेपछि दुवैतर्फ वाहनहरूका लामो ताँती लागेको छ।
यसैबिच, प्रशासन र विभागका तर्फबाट पैह्रो सोहोर्ने कार्य धमाधम चलिरहेको छ। पैह्रो सोहोर्नका लागि चारवटा जेसीबी मशिन खटिएका छन्। केही समयपछि पुनः यातायात सुचारू बन्ने एसआई तामाङले जानकारी गराएका छन्।
यो बर्खेको मौसममा राष्ट्रिय राजमार्ग १० भएर यात्रा गर्दा सतर्क अप्नाइदिने पनि टिस्टा आउटपोस्टका एसआई भिमेश तामाङले चालक एवं यात्रीहरूसमक्ष अपील गरेका छन्।