दार्जीलिङ, 22 जुलाईः दार्जीलिङमा कोरोना सङ्क्रमण बढ़्न नदिन दार्जीलिङ पुलिसले दार्जीलिङका गाड़ी चालकहरूलाई विशेष अनुरोध गरेको छ।
दार्जीलिङ भित्रिने पर्यटकहरूले डबल डोज भ्याक्सिन लगाएका छन्/छैनन्, यदि डबल डोज भ्याक्सिन लगाएका छैनन् भने आरटीपीसीआर जाँचको रिपोर्ट छ/छैन भन्ने जाँच गरेपछि मात्र पर्यटकहरूलाई दार्जीलिङ भित्राउने चालकहरूलाई पुलिसको अपील छ।
दार्जीलिङ आउने पर्यटकहरूका लागि गाड़ी चालकहरूले नै यति सोधखोज गरिदिए, दार्जीलिङमा बाहिरबाट भित्रिने कोरोना सङ्क्रमण स्वतः नियन्त्रण भएर जाने पुलिसको ठम्याइ छ।
यसै विषयमाथि चर्चा गर्नका लागि आज (बिहीबार) दार्जीलिङ पुलिसले दार्जीलिङका विभिन्न सिण्डिकेटका प्रतिनिधिहरूसित एक बैठक गरेको थियो।
साथै यसमाथि गिद्दे दृष्टि राख्नका लागि दार्जीलिङ पुलिसले दार्जीलिङको बतासे क्षेत्रमा नाका चेकिङ गरिरहेको पनि दार्जीलिङ ट्राफिक ओसी बीके रोयले बताएका छन्।
उनले भने, “दार्जीलिङ जिल्ला प्रशासनको निर्देशमा नै दार्जीलिङ पुलिसले दार्जीलिङ प्रवेश गर्ने विशेष पर्यटकहरूमाथि दृष्टि राख्न थालेको छ। यसका लागि पुलिसले दार्जीलिङको प्रवेशद्वार सिमलबारीमा पनि नाका चेकिङ शुरू गरिसकेको छ।”
स्मरण गराइन्छ, दार्जीलिङ जिल्लामा अझै पनि कोरोना सङ्क्रमणका मामिलामा कमी आएको छैन। यद्यपि, अहिले पनि जिल्लामा 50 भन्दा अधिक सङ्क्रमित बनिरहेका छन् अनि केही सङ्क्रमितका मृत्यु हुने क्रम पनि रोकिएको छैन।
यसैबिच, दार्जीलिङमा विभिन्न राज्यका पर्यटकहरू पनि आइरहेका छन्, यस्तोमा उनीहरूबाट दार्जीलिङमा अझै कोरोना सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर नै दार्जीलिङ जिल्ला प्रशासन र पुलिसले धारावाहिक सभाहरू गरिरहेका छन्।
हिजो दार्जीलिङका होटल तथा पर्यटनसित सम्बन्धित निकायहरूलाई लिएर एक बैठक गरिएको थियो भने आज विशेष गाड़ी चालकहरूका प्रतिनिधिहरूलाई लिएर यो बैठक गरिएको हो। किनभने, दार्जीलिङमा पर्यटक ल्याउने, राख्ने माध्यमहरू नै यिनीहरू हुन्।
यसैले पुलिसले समय-समयमा दार्जीलिङका होटलहरूमा रहेका पर्यटकहरूको आरटीपीसीआर रिपोर्टका साथै डबल डोज भ्याक्सिनको रिपोर्ट जाँच गर्ने कार्य गरिरहेको छ।
यसैगरी आज दार्जीलिङ नगरपालिकाले दार्जीलिङ शहर वरिपरि व्यापक सेनिटाइज गर्ने कार्य गऱ्यो।
दार्जीलिङ जिल्ला प्रशासनको निर्देशअनुसार नै जिल्लाका सबै बजारलाई सप्ताहमा एक दिन बन्द राखेर सेनिटाइज गर्ने कार्यक्रम बनाइएको छ। यसका लागि सम्बन्धित क्षेत्रका व्यवसायीहरूले क्षेत्रीय प्रशासनसित सल्लाह गरेर बजार बन्द गर्ने दिन तय गर्ने गरेका छन्।
यसैअनुसार, आज दार्जीलिङ शहरका दोकानहरू बन्द राखिएको थियो।