सोमको ‘बाटो विवाद’-ले ततायो दार्जीलिङको राजनीति

0
900
(सोम चियाकमानको घण्टीडाँड़ामा गएको पैह्रो)।

दार्जीलिङ, 24 जुलाई सोम चियाकमानको घण्टी डाँड़ामा गएको पैह्रोले यहाँको राजनीतिलाई नै निकै तताएको छ।

यो पैह्रो गएको स्थानलाई पुनर्निर्माण गर्ने र निर्माण गर्न नदिने घटनाले अझै यहाँको राजनीतिमा नै उथुल-पुथुल मच्चाइरहेको छ।

सोम चियाकमानको दोस्रो विभाग जाने घण्टी डाँड़ाको मूल सड़क गत 8 जुलाईका दिन पैह्रोले क्षतिग्रस्त बनाएको थियो। त्यसको भोलिपल्टै गोजमुमो-2-का कार्यकर्ताहरूको पहलमा एउटा एजेन्सीले यो पैह्रो बनाउने तर्खर गरिरहेको थियो। तर, त्यसमाथि विमल गुरुङले बाधा दिएको भरत तामाङको आरोप छ।

“घण्टी डाँड़ामा पैह्रो जाने सम्भावनालाई ध्यानमा राखेर नै 11 फरवरी 2021-का दिन गोजमुमो-2-का तत्कालीन अध्यक्ष विनय तामाङको उपस्थितिमा यस बाटो निर्माणको शिलान्यास गरिएको थियो। यसको डीपीआर पनि तयार भइसकेको थियो। त्यसैको आधारमा यहाँ पैह्रो गएपछि एउटा एजेन्सीले यहाँको बाटो निर्माण गरिदिने पहल शुरू गरेको थियो। तर यसको जानकारी पाएपछि विमल गुरुङले यहाँ बाटो निर्माणको कार्य गर्न दिएनन्।”

 गुरुङले आफै यस बाटोको निर्माण गर्ने वचन दिएका थिए। यो कुरा सुनेपछि सोम दोस्रो विभागका 7 वटा समाजका प्रतिनिधिहरू पातलेबास गएर विमल गुरुङसित भेट गरे अनि आफ्नो गाउँ जाने बाटो निर्माण गर्नेबारे चर्चा गरे। तर त्यस समय विमल गुरुङले ती समाजका प्रतिनिधिहरूलाई बाटो बनाउन नसक्ने बताएपछि नै विवाद चुलिएर गएको हो।

(भरत तामाङ।)

तामाङले थपे, “विमल गुरुङ आफैले पनि बाटो बनाउँदैनन् अनि अरूलाई पनि बनाउन दिँदैनन्। यसप्रकारको कार्यलाई स्वीकार गर्न सकिँदैन।”

भरत तामाङले विमल गुरुङविरुद्ध यस्तो आरोप लगाएपछि सोमको ‘बाटो विवाद’ थप बढ़ेर गएको हो।

विमलपन्थी मोर्चाले सोम चियाबगानका युवाहरूलाई राजनीतिक पार्टीमा हिँड़ेर पेटपालो गर्ने भनेपछि भरत तामाङ अझै आक्रोसित बनेका हुन्।

उनले भने, “हिजो मात्रै फेरि गोजमुमो-1 अध्यक्ष विमल गुरुङले यो बाटो निर्माण गरिदिने बयान दिएका थिए। बाटो जो-सुकैले बनाओस्, गाउँलेलाई सुविधा पुग्नपर्छ। तर यस विषय लिएर राजनीति गर्ने कार्य कसैले नगरेको उचित हुनेछ।”

उल्लेखनीय छ, गत 8 जुलाईको बिहान गएको यो पैह्रोग्रस्त बाटो राजनीतिका कारण नै पुनः निर्माण भएको छैन। जसको फलस्वरूप, सोम चियाबगान दोस्रो विभागका सम्पूर्ण मानिस दार्जीलिङ शहर आउनका लागि सोम तेस्रो विभाग घुमेर आउन परिरहेका छन्। जुन बाटो भएर दार्जीलिङ शहर आउँदा उनीहरूका लागि आधा घण्टा जति बेसी समय लाग्ने गर्छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here