दार्जीलिङ, २५ जुलाईः भारतीय जनता पार्टी (भाजपा) त्यागेर तिलकचन्द्र रोका गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमामा सामेल भएका छन्।
विधानसभा चुनाउअघि विमलपन्थी मोर्चा त्यागेर भाजपामा सामेल भएका उनी आज फेरि भाजपा छाड़ेर मोर्चा दुईमा गएका हुन्।
अर्कोतिर, आज मोर्चा दुईमा सामेल भएपछि उनले अनित थापाको नेतृत्वलाई सकारेका छन्। रोकाको दावीका अनुसार २००७ देखि २०१७ को जूनसम्म पहाड़मा जति विकास भयो, त्यसभन्दा बढ़ता विकास २०१७-को सेप्टेम्बर महिनादेखि अहिलेसम्म भएको छ।
यसका साथै उनले मोर्चा दुईको सफलता दर (सक्सेस रेट) र जिम्मेवारीका कारण यस पार्टीमा सामेल भएको बताए।
“म यस पार्टीमा सामेल भएको पहिलो कुरा सक्सेस रेट हो, अर्का कुरा जिम्मेवारी”, रोकाले भने।
चियाकमान, सिन्कोना बगान डीआई फण्डमा बसोबास गर्ने मानिसहरूका जमिनको पर्जापट्टाका लागि मोर्चा दुईमा आफू सामेल भएको उनले बताए।
अर्कोतिर, पहाड़का जनताले भाजपालाई जति दिनुपर्ने थियो, त्यो दिइसकेकाले अब दिनुपर्ने काम भाजपाको रहेको पनि बताए।