दार्जीलिङ, २५ जुलाईः कोविड प्रोटोकल्सलाई लिएर दार्जीलिङ प्रशासनले पक्षपात गरिरहेको आरोप भारती गुट गोर्खा लीगले लगाएको छ।
विशेषगरी आज मोर्चा दुईले अनित थापाको स्वागतमा निकालिएको ऱ्यालीलाई लिएर भारती गुट गोर्खा लीगले प्रशासनको भूमिकामाथि प्रश्न उठाएको छ।
पार्टी महासचिव एसपी शर्माका अनुसार आउँदो १ अगस्तका दिनदेखि बसिने धरनाका लागि अनुमति मागेर १९ जुलाईकै दिन जिल्लाशासक, दार्जीलिङ महकुमा अधिकारी र सदर थानामा ज्ञापन चढ़ाइसकेको छ। कोविडका कारण सार्वजनिक स्थलमा कुनै राजनीतिक कार्यक्रम गर्न सकिँदैन भनेर प्रशासन पक्षबाट मौखिक जवाब दिइएको छ।
“कोविड भनेको कुनै राजनीतिक दल विशेष हुन्छ? अभागोलीको कार्यक्रममा चाहिँ कोविड लाग्छ तर गोजमुमो पार्टीको कार्यक्रममा चाहिँ कोविड लाग्दैन? हामीले देखिरहेका छौँ- पार्टी पार्टीका समर्थन कार्यक्रममा हजारौँका सङ्ख्यामा भीड लागिरहेका छन्, त्यहाँ कोविड लागेको छैन?”, उनले थपे, “आज त नारा-जुलूस पनि भयो, त्यहाँ कोविड छैन। तर, गोर्खा लीगको कार्यक्रममा मात्र कोविड हुँदैछ। प्रशासनले सानीआमाको व्यवहार किन गर्दैछ। एउटा राजनीतिक दलमाथि यसरी प्रशासनले किन पक्षपात गर्दैछ? के कठपुतलीहरूलाई मात्र अनुमति दिने सरकारको नियम छ? हामी प्रश्न गर्न चाहन्छौँ।”
यति मात्र होइन, साधारण जनताले नाकदेखि अलिक मुनि मास्क लगाउँदैमा कारबाही गर्ने पुलिस प्रशासनले आज नारा-जुलूस गर्नेहरूविरुद्ध किन कारबाही गरेन भन्ने पनि उनको प्रश्न छ।
यसैगरी आज मोर्चा दुईलाई प्रशासनले अनुमति दिएको थियो भने अभागोलीले पनि यसरी नै सार्वजनिक स्थलमा कार्यक्रम गर्न अनुमति पाउनुपर्ने शर्माको भनाइ छ।
“हाम्रो आउँदो कार्यक्रममा प्रशासनले हस्तक्षेप गर्छ भने त्यही पुलिस प्रशासनका व्यक्तिहरू कसरी आज त्यो कार्यक्रममा सँगसँगै हिँड़िरहेका थिए? हाम्रो प्रश्न छ”, उनले थपे, “आज कार्यक्रम गर्ने व्यक्तिहरूलाई यदि प्रशासनले पक्राउ गरेको छैन भने आउँदो १ अगस्तका दिन कसरी प्रशासनले हामीमाथि कारबाही गर्ने? प्रश्न हाम्रो छ।”
यदि आउँदो अनशन कार्यक्रमका दिन आफूहरूलाई प्रशासनले पक्राउ गरेमा जेलमै पनि अनशन शुरू गर्नेछौँ भनेर अघिबाटै प्रशासनलाई जनाइसकेको पनि एसपी शर्माले बताए।
उनका अनुसार आज अनित थापानेतृत्व गोजमुमोलाई यदि कार्यक्रम गर्ने प्रशासनले अनुमति दिएको थियो भने आउँदो १ अगस्तका दिन कार्यक्रम गर्न गोर्खा लीगलाई पनि अनुमति दिनुपर्छ।
आउँदो १ अगस्तका दिन आफूहरूमाथि प्रशासनले प्रशासनले कारबाही गर्छ भने आजका कार्यक्रम गर्नेहरूलाई पनि त्यस्तै कारबाही गरेको हुनुपर्ने शर्माले थप बताए।
यसका साथै आउँदो १ अगस्तका दिन भारती गुट गोर्खा लीगले अनशन कार्यक्रम गरेरै छाड़्ने पनि उनले बताए।