एचएसपीभित्र अप्रजातान्त्रिक र एकतन्त्री कार्यशैली हाबी भएको आरोप, आरबी सुब्बा र केएन उप्रेतीसहित सातजनाले दिए राजीनामा

0
1307
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आरबी सुब्बा र केएन उप्रेती।

गान्तोक,25 फरवरीः हाम्रो सिक्किम पार्टी (एचएसपी) -बाट पार्टीका संस्थापक उपाध्यक्ष तथा कार्यकारी अध्यक्ष आरबी सुब्बा, संस्थापक उपाध्यक्ष तारा श्रेष्ठ, पार्टीका सल्लाहकार तथा पूर्व मन्त्री केएन उप्रेतीलगायत हेमलाल बस्नेत, मणिकुमार सुब्बा, गोपाल पाठक र मनबहादुर राईले राजीनामा दिएका छन्।

सोमबार राजधानीमा एउटा पत्रकार सम्मेलन आयोजन गरेर एचएसपीका नेताहरूले राजीनामाको घोषणा गरेका हुन्। एचएसपीका वरिष्ठ नेताहरूले पाँचबुँदे कारणलाई राजीनामाको आधार बनाएका छन्।

आरबी सुब्बालगायत एचएसपीका वरिष्ठ नेतृत्वहरूले पार्टीबाट राजीनामा दिनुले एचएसपी पार्टीमा ठूलो पैह्रो गएको छ। उल्लेखनीय छ, पूर्व मन्त्री आरबी सुब्बाको निजी निवासमा एचएसपी मुख्यालय रहेको थियो भने उनको राजीनामापछि पार्टीको मुख्यालय नै बन्द भएको छ।

पत्रकारहरूलाई सम्बोधन गर्दै आरबी सुब्बाले भने, “पार्टीमा पारदर्शिता नभएकोले हामी राजीनामा गर्न बाध्य बन्यौं। अध्यक्ष चयनमा भाइचुङ भोटियाले जुन एकतन्त्री नीति अप्नाए, त्यसले हामीलाई दुखित बनायो।  केएन उप्रेतीको घरमै गएर मैले र भाइचुङ भोटियाले उनलाई अध्यक्ष बनाउने वचन दिएका थियौं। तर, त्यो वचनमा भाइचुङ बस्न सकेनन्। छेत्री-बाहुन समुदायबाटै अध्यक्ष हुनुपर्छ भन्ने मेरो स्पष्ट अड़ान थियो। मैले पार्टीमा धेरैचोटि यो कुरा राखिसकेको थिएँ।”

अध्यक्षको चयन हुने दिन उप्रेतीलाई अध्यक्ष बनाउन सकिँदैन भने अध्यक्षको चुनाउ गरौंभन्दा पनि भाइचुङ भोटिया नमानेको उनको भनाइ छ। सुब्बाले थप भने, “अर्का उपाध्यक्ष तीर्थ शर्माले अध्यक्ष पदको निम्ति मनोनयन गर्ने भएका थिए। उनलाई मनोनयन गर्न दिइएन। महिलालाई अध्यक्ष बनाउनुपर्छ भन्ने अड़ानमा भाइचुङ बसे। पार्टीमा एकजना मात्र महिला थिइन्। त्यसैबेला स्पष्ट भयो, उनी डा. वीणा बस्नेतलाई अध्यक्ष बनाउन चाहन्छन्।”

बस्नेत अध्यक्ष भएकोमा आफूहरूलाई आपत्ति नरहेको, तर चयन प्रक्रिया प्रजातान्त्रिक रूपमा हुनुपर्थ्यो, त्यो भने भाइचुङले हुन नदिएको उनको आरोप छ।

भोटियामाथि अझ गम्भीर आरोप लगाउँदै सुब्बाले भने, “लिम्बू-तामाङको सीट आरक्षण सम्बन्धमा पार्टीको स्पष्ट फर्मुला हुनुपर्छ भन्ने मैले बारम्बार कुरा राखेको हो। तर भोटियाले 32 बाटै सीट हुनुपर्छ भने। यो न्यायसङ्गत होइन। सिक्किमे बहुसङ्ख्यक नेपालीहरूलाई विश्वासघात गर्ने कुरा हो। राज्य सरकारले 40 सीटको फर्मुला दिएको छ। यसलाई हामी स्वीकार गरौं, नभए अर्को फर्मुला दिऔं भनेर बारम्बार भनेको हो। तर, भाइचुङ सिब्ल्याकको इसारामा चलेर उनले 32 कै कुरा गरिबसे। भाइचुङले बहुसङ्ख्यक नेपालीहरूको हितलाई बुझेनन्। उनले सामन्ती अवशेषकै  अवधारणालाई अघि बढ़ाइबसे।”

लिम्बू-तामाङ सीट आरक्षण सम्बन्धमा बोल्दै उनले अझ भने, “मलाई पार्टीमा लिम्बू-तामाङलाई सीट आरक्षण गर्ने फर्मुला कमिटीको अध्यक्ष बनाइयो अरे। मलाई थाहा छैन। मलाई जानकारी नदिई कमिटी बनाइएको छ। म सोझै यो कमिटी खारेज गर्छु। यस्तो अप्रजातान्त्रिक रवैय्याको विरोध जताउँछु। त्यसैले पार्टीबाट राजीनामा दिँदैछु।”

यसरी नै एचएसपीका सल्लाहकार तथा पूर्व मन्त्री केएन उप्रेतीले पनि भने, “एचएसपीमा अध्यक्षको चयन प्रक्रिया ठीकसँग भएन। मलाई अध्यक्ष बनाउँछु भनेर भाइचुङले वचन दिएका थिए। मैले उनलाई स्पष्टसँग भनेको थिएँ, बीस वर्ष विधायक र दश वर्ष मन्त्री गरेको मान्छे, म कसैको झोला बोकेर जिन्दावाद, मुर्दावादको नारा लगाउन सक्दिनँ। पार्टीमा सम्मानित ठाउँ पाएमात्र सामेल हुन्छु भनेको थिएँ। तर, यी सबै कुरालाई अदेखा गर्दै राजनैतिक अनुभवहीन डा. वीणा बस्नेतलाई पार्टीको अध्यक्ष बनाइयो। अध्यक्षको चयन प्रजातान्त्रिक प्रणालीमा गरेको भए पनि मेरो भन्नु केही थिएन, तर भोटियाले आफ्नो इच्छाअनुसार डा. वीणालाई अध्यक्ष बनाए।”

उप्रेतीले अझ भने, “सिक्किमका राजनीतिक मागहरूप्रति भाइचुङले कुनै स्पष्ट अड़ान दिन सकेनन्। पार्टीमा बारम्बार सल्लाहको आग्रह गर्दा पनि उनीबाट कुनै सकारात्मक अनुक्रिया आएन।”

एचएसपीबाट राजीनामा दिएपछि भविष्यमा कुन राजनीतिक पार्टीमा सामेल हुनुहुन्छ भन्ने प्रश्न गर्दा दुवै नेताले भने, “सबै राजनीतिक दलहरूले लिम्बू-तामाङलाई 32 बाटै सीट दिनुपर्छ भन्दैछन्। त्यसको हामी विरोधी हौ। 40 बाट सीट दिनुपर्छ भनेर जुन पार्टीले भन्दैछ हामी त्यही पार्टीमा जान्छौं। हामी बहुसङ्ख्यक नेपालीलाई विश्वासघात गर्न सक्दैनौं”, दुवैले स्पष्टसँग एसडीएफमा जाने सङ्केत गरे।

यस सम्बन्धमा उप्रेतीले अझ भने, “1973 मा हामीले बहुसङ्ख्यक नेपालीको पक्षमा आन्दोलन गरेका थियौं। त्यस आन्दोलनको म पनि एकजना सिपाही हुँ। नेपालीहरूलाई राजनीतिक रूपमा ठग्ने सीट फर्मुलाका पक्षधरहरूको हामी समर्थक बन्न सक्दैनौं। राजनीतिक मतभेद हुँदाहुँदै पनि तीन वर्षअघि मुख्यमन्त्री पवन चामलिङलाई मैले लिखित रूपमा एसडीएफको सीट फर्मुला सही छ भनेर बताएको थिएँ। त्यस समय पनि मैले यस सीट फर्मुलामा मेरो केही आवश्यकता पर्‍यो भने मलाई सम्झनु भनेर मुख्यमन्त्रीलाई लिखित रूपमा अवगत गराइसकेको छु। नेपालीहरूलाई राजनीतिक रूपमा दबाउने यहाँ ठूलो षड़यन्त्र हुँदैछ। त्यसको विरुद्ध हामी आगामी रणनीति अप्नाउनेछौं।”

यसै क्रममा एचएसपीबाट राजीनामा दिएका अर्का नेता तारा श्रेष्ठले पनि आफ्नो विचार राख्दै भाइचुङ भोटियाले पार्टीभित्र एकतन्त्री शासन चलाएको आरोप लगाए।

ज्ञात रहोस्, आरबी सुब्बा, केएन उप्रेतीलगायत अन्य विपक्षी नेताहरू 27 फरवरीको दिन जोरथाङमा एउटा बृहत् जनसभामा सत्तारूढ़ पार्टीमा सामेल हुने एसडीएफ नेताहरूले अघिबाटै बताइसकेका छन्। आरबी सुब्बाले 2016 मा एसडीएफ पार्टीबाट राजीनामा दिएका थिए। उनी एसडीएफका संस्थापक सदस्य हुन् भने केएन उप्रेती र तारा श्रेष्ठले 25 वर्षसम्म एसडीएफको विरोधमा रहेर राजनीति गरिरहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here