कोविड नियन्त्रणमा सिक्किम सरकार असफलः चामलिङ

0
1074

गान्तोक, 25 जुलाईः सिक्किमको कोविड रिपोर्टलाई सरकारले ध्यान दिएर मानवताले आँखाले पढ़िदिन राज्यका पूर्व मुख्यमन्त्री एवं एसडीएफ अध्यक्ष पवन चामलिङले अनुरोध गरेका छन्।

अहिले सिक्किममा के भइरहेको छ भन्ने कुरा सरकारले बुझ्न आवश्यक रहेको उनको भनाइ छ।

साप्ताहिक प्रश्नोत्तरको क्रममा “कोविड सङ्क्रमणको दोस्रो चरण लम्बिएर गइरहेको अवस्थाबाट तपाईं चिन्तित देखिनुहुन्छ। सिक्किमका मुख्यमन्त्री पीएस गोलेले तर असमका पत्रकारहरूसँग बोल्दै सिक्किममा दोस्रो चरणको सङ्क्रमण नियन्त्रणमा रहेको र आतिनुपर्ने स्थिति नरहेको वक्तव्य दिए। यसबारे तपाईंको प्रतिक्रिया के छ?” भनी सोधिएको प्रश्नको उत्तरमा चामलिङले सिक्किमको स्थिति चिन्ताजनक रहेको बताएका छन्।

‘सिक्किममा हालसम्म भएका कोविड मृत्युमध्ये 87 जना अन्य कुनै बिमारी नभएका मानिस छन्। भन्नुको अर्थ सिक्किममा हालसम्म कोविडद्वारा मर्नेहरूमध्ये लगभग 50 प्रतिशत मानिसहरू अन्य बिमारी नभई मरेका छन्। यी हाम्रा प्रिय मानिसहरूले कोविड दोस्रो चरणमा आफ्ना प्राण गुमाएका हुन्। के यो ‘नियन्त्रित स्थितिको’ सङ्केत हो र? हामीले पहिलो र दोस्रो चरणको कोविड मृत्युको आँकड़ालाई तुलना गर्‍यौं भने हालसम्म दोस्रो चरणको मृत्यु दर पहिलो चरणभन्दा 33 प्रतिशत अधिक छ। यसैलाई “स्थिति नियन्त्रणमा रहेको” मान्नुपर्ने हो कि?’-उनले प्रश्न गरे।

पूर्व मुख्यमन्त्रीले थप भनेका छन्,-‘आज बढ़ीभन्दा बढ़ी युवाहरू कोविड -19 -का शिकार बन्दैछन्। स्वास्थ्य रिपोर्टले बताए अनुसार पनि 97 डेल्टा भेरियन्टबाट सङ्क्रमितमध्ये 61 जना 35 वर्षभन्दा कम उमेर वर्गका छन्। के यही हो ‘नआतिनुपर्ने अवस्था’?’

यसैगरी राज्य प्रशासन सङ्क्रमणको दोष ‘निर्दयतापूर्वक’ जनताको टाउको थोपेर आफू चोखो बन्ने काम गरिरहेको चामलिङको आरोप छ।

‘उनीहरू (राज्य प्रशासन)-को भनाइ अनुसार ‘धेरै मानिस अस्पताल नआएका कारण मरेका हुन्।’ उनीहरूले बुझ्नुपर्छ, मानिसहरू धेरै कारणले गर्दा अस्पताल जान चाहिरहेका छैनन्’, पूर्व मुख्यमन्त्रीले भनेका छन्, ‘केही समयअघि मात्र सिक्किमका माननीय उच्च न्यायालयले कोविडका लागि अस्पतालहरूका तयारीलाई व्यवस्थित र सङ्घनित गर्ने निर्देश राज्य सरकारलाई दिएको थियो। सरकारले जनताको विश्वास जित्न सक्नुपर्दछ, जनतामा जागरूकता फैल्याउनु पर्दछ र जनतालाई आश्वस्त पार्नसक्नुपर्दछ।‘

आम जनता मेडिकल एक्सपर्ट नहुने भएकाले जनतालाई सरकारले आफ्नो गरी-गराइ, सूचना, सम्पर्क वा सञ्चारद्वारा विश्वस्त बनाउन सक्नुपर्ने चामलिङको भनाइ छ।

उनले भनेका छन्, ‘यदि कोविड सङ्क्रमित मानिसहरू अस्पताल आउँदैनन् भने यसले प्रष्ट हुन्छ, उनीहरू स्वास्थ्य प्रणालीप्रति विश्वस्त छैनन्, र उनीहरू डराइरहेका छन्। यसले सरकारले कोविड व्यवस्थापनलाई ठीक गर्नुपर्ने जरूरत रहेको, कोविडको उपचारका लागि अस्पतालहरूका अवस्थालाई सुधार गर्नु पर्ने जरूरी रहेको, आवश्यकताको हिसाबले जनशक्तिको विकास र विस्तार गर्नुपर्ने, थकित भइसकेका कोविड योद्धाहरूलाई यथेष्ट विश्राम दिनुपर्ने कुरा दर्शाउँछ र जनतालाई विश्वस्त पार्नुपर्नेछ, न कि उनीहरूलाई दोष दिनु।‘

पूर्व मुख्यमन्त्री चामलिङले थप भनेका छन्,  ‘अहिले सरकारले हताशावश जारी गरेको दिशानिर्देशले स्थितिलाई झनै खराब बनाएको छ, र जन-जीवनलाई ज्यादै कठिन बनाएको छ। एकजना सङ्क्रमित पाइएमा सम्पूर्ण क्षेत्र वा वार्डलाई नै कन्टेन गर्ने सरकारको फैसला न वैज्ञानिक छ, न सामाजिक दृष्टिले मद्दतगार नै छ। यो भनेको सरकारको हताशाको चरम अवस्था हो। यो हास्यास्पद कुरो हो। अझ अचम्भ त सरकारले जनतालाई दग्दी दिन र आतङ्कित पार्न सामूहिक चलान गर्न थालेको छ। सिक्किम सरकारले जानेकै जनतालाई असुविधामा धकेल्नु र आतङ्कित पार्नु मात्र छ। उनीहरूले बुझ्नपर्छ, उनीहरूको यो हद दर्जाको मूर्खताले कुनै कुरालाई पार लाउनेछैन। उनीहरू गाउँ-गाउँलाई कन्टेन गर्दै जनतालाई थप आर्थिक र मानसिक दबाव बढ़ाउने काम गरिरहेका छन्, तर सङ्क्रमण भने घट्नुको सट्टा उल्टै बढ़्दै गइरहेको छ।‘

चामलिङले थप भनेका छन्, ‘अर्को चिन्ताजनक घटना गत बुधबारका दिन गान्तोकको मनन केन्द्रमा आयोजित आजादी का अमृत कार्यक्रममा सहभागी दुईजना व्यक्ति कोविड सङ्क्रमित पाइएका छन्। संस्कृति विभागको मुख्यालय अहिले कन्टेनमेन्ट जोन भएको छ। संस्कृति विभागले नै यसै कार्यक्रमको अंशको रूपमा कथा वाचन कार्यक्रम पनि आयोजन गरेको थियो, जसमा हाम्रा विद्यार्थीहरूले अंशग्रहण गरेका थिए। जतिखेर पढ़ाइ नै अनलाइन चलिरहेको छ, त्यतिखेर विद्यार्थीहरूलाई शारीरिक रूपमा भेला गरी कार्यक्रम गर्नु मूर्खता होइन भने के हो?”

उनले थप भनेका छन्, सरकारले विभिन्न विभागमा विभिन्न कार्यक्रमहरू आयोजन गरिरहेको छ। पहिलो चरणको कोविडको प्रारम्भिक अवस्थामा रङ्गेलीमा पार्टी जोइनिङ कार्यक्रमले नपुगेर एसकेएम-ले हर-हालतमा कोविड सङ्क्रमण गराउने काम सरकारद्वारा नै गराइरहेको छ। मुख्यमन्त्री पीएस गोलेले “सिक्किम कोरोना भाइरस वितरण मिसन” नै सञ्चालन गरिरहेका छन्। उनी आफूसँग सयौँ मानिसलाई साथ लिएर जतासुकै घुमिरहेका छन्।”

अब जनताको जीवनसँग ‘खेलाँची’ गर्ने काम बन्द गरियोस् भन्ने चामलिङले सरकारलाई चेताउनी दिएका छन्।

उनका अनुसार वर्तमान प्रशासनलाई कोविडसँग लड़ाइँ गर्ने यथेष्ट समय दिइसकिएको छ, तर सरकार आफै नराम्रो गरी ‘असफल’ र ‘परास्त’ भएको छ।

‘सरकारले महामारी विशेषज्ञ, स्थापित डाक्टर वा अन्य स्वास्थ्यसेवक तथा आपदा प्रबन्धनका पेशेवारहरूलाई लिएर उच्चस्तरीय कमिटी गठन गरी स्थितिलाई नियन्त्रणमा ल्याउनुपर्छ। मनपरीको नोटिफिकेसन अब बन्द गर्नुपर्छ। अझै पनि नजागे, समयले पर्खिनेछैन’, पवन चामलिङले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here