यसै साता अजय एड्वर्ड दिल्ली जाने

0
987

दार्जीलिङ, 26 जुलाई: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा नेता अजय एड्वर्ड यसै सप्ताहभित्र दिल्ली जानेछन्।

दिल्लीमा उनले दार्जीलिङका सांसद राजु बिष्टसित भेट गरी अन्य मन्त्रीहरूसँग भेट्ने कार्यक्रम तयार गर्ने भएका छन्। यद्यपि, एड्वर्डलाई वर्तमान चलिरहेको संसद सत्रबाट दार्जीलिङ पहाड़ वा गोर्खा जातिको लागि केही ठोस कार्य हुन्छ भने लागेको छैन।

उनले भने, “गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रको सत्तासीन पार्टी भाजपाको एक घटक दल हो अनि वर्तमान केन्द्र सरकारले गोर्खा जातिका लागि केही ठोस कार्य गरोस् भन्ने विषयमाथि इमानदारसित काम गरिरहेको छ। तरै पनि पार्टीले आशा गरिरहेको भए पनि किटान गरेर भन्न सक्ने अवस्था छैन।”

एड्वर्डका अनुसार यसपालिको विधानसभा चुनाउमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो जित्ने आसन पनि भाजपाका लागि छोड़िदिएको छ। भाजपाका लागि यतिसम्म गोरामुमोले त्याग गरेको छ, ताकि यो पार्टीको सरकारले दार्जीलिङ पहाड़ अनि गोर्खा जातिको लागि केही कार्य अवश्यै गर्नेछ।

यसै विषयमाथि कुराकानी गर्नका लागि उनले यसै सप्ताहभित्र दिल्ली जाने कार्यक्रम बनाएको छ।

आफू दिल्ली पुगेपछि पार्टी अध्यक्ष मन घिसिङ पनि दिल्ली आउने भएको एड्वर्डले थप जानकारी गराए।

“कलकत्ता गएर केही हुनेछैन। दार्जीलिङ पहाड़ अनि गोर्खा जातिका लागि केही गर्छ भने त्यो दिल्ली वा केन्द्र सरकारले नै गर्छ। यसैले गोरामुमो टोली दिल्ली जाने भएको हो”, उनले थपे।

उनले आफू पहिला गएर पार्टी अध्यक्ष मन घिसिङका लागि बाटो सफा गरिराख्ने बताउँदै मन घिसिङ दिल्ली आएपछि नै दिल्लीमा मन्त्रीहरूसित भेट गर्न शुरू गरिने योजना बनाइएको पनि बताए।

एक प्रश्‍नको उत्तरमा एड्वर्डले भने, “स्थायी राजनीतिक समाधान र जनजातिको मर्यादा पाउन वञ्चित रहेका जात-गोष्ठीहरूलाई अनुसूचित जनजातिको मर्यादा दिलाउने मागलाई गोरामुमोले विशेष महत्त्व दिएको छ। यसै विषयलाई लिएर नै गोरामुमोले भाजपालाई सहयोग गरेको हो। यसै विषयमाथि कुरा गर्ने उद्देश्यले नै हामी दिल्ली जाने भएका हौं।”

अनित थापा र अजय एड्वर्डहरू मिलेर नयाँ पार्टी खोल्ने योजना भइरहेको छ भन्ने चर्चाबारे प्रश्‍न गर्दा उनले राजनीतिमा केही पनि असम्भव नरहेको बताए। यद्यपि, उनले भने, “तर अनित थापाहरूले जीटीएलाई लक्ष्य बनाएर पहाड़मा राजनीति गरिरहेको छ अनि गोरामुमोले स्थायी राजनीतिक समाधानको मुद्दा हातमा लिएर राजनीति गर्दैछ। यसैकारण अनित थापा र अजय एड्वर्डहरू मिल्नसक्ने सम्भावना केवल सम्भावना मात्रै हो। तरै पनि राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन। यसको एउटा ज्वलन्त उदाहरण विगतमा गोरामुमो र विमल गुरुङ एकसाथ आउनु हो।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here