करण छेत्रीले मोर्चा दुईबाट दिए राजीनामा

0
1105

दार्जीलिङ, २६ जुलाईः करण छेत्रीले गोजमुमो दोस्रो खेमाबाट राजीनामा दिएका छन्। उनी गोजयुमो केन्द्रीय समिति सदस्य पदमा थिए।

छेत्रीले आज राजीनामा दिएका हुन्। मतभेद हुँदा हुँदै पनि गोजमुमो दोस्रो खेमासँग  स्वेच्छाले भन्दा बढ़ी केही बाध्यताले जोड़िएको पनि उनले बताएका छन्। तर पार्टीले भने जस्तो नयाँ सोच नयाँ विचार र यथार्थको राजनीति नदेखेपछि लगभग शुरूदेखि आफू निष्क्रिय बसेको पनि छेत्रीले जनाएका छन्।

उनले राजीनामा पत्रमा लेखेका छन्, “मैले बुझेको राजनीति भनेको समाजसेवा हो, जनसेवा हो अर्थात् राजनीति सामूहिक हितका लागि गरिन्छ। तर यहाँ राजनीति केवल पैसावाल व्यक्ति, ठेकेदार, नेतृत्व र उसका खानखान र नेतृत्वको गल्ली र परिवारका स्वार्थमा केन्द्रित भयो”, करण छेत्रीले थप भनेका छन्, “अनि यस्तै मात्र आशा, विचारधारा र सपनाहरू बोकेर बाँचिरहेका नेतृत्व र समर्थकहरूले घिसारेको राजनीतिबाट आम मानिसको जीवन अनि हक अधिकार र समाज परिवर्तनको सपनमा देख्ने मजस्ता युवाले केही अपेक्षा गर्नु निश्चय सकिँदैन रहेछ।”

उनले राजीनामा पत्रमा थप लेखेका छन्, “अझ दलका अध्यक्ष स्वयंले नै राजीनामा दिएर हिँड़नु भनेको कति लज्जास्पद र हास्यास्पद कुरा हो। अस्ति विमल दाजु मात्रै अध्यक्ष हो भन्नेहरूले नै हिज उहाँलाई पूर्व अध्यक्ष र विनय जोजोलाई अध्यक्ष भन्न थालेका थिए। फेरि आज विनय जोजोलाई पूर्व अध्यक्ष भनेर अनित दाजुलाई अध्यक्ष भनिँदैछ। यही क्रम जारी रहने हो भने भोलि यही जनताले अनित दाजुलाई पूर्व अध्यक्ष भन्न कति समय लाग्ला? नीति सिद्धान्त र अनुशासन नभएको राजनीतिक दलको परिभाषा यो भन्दा अर्को के हुनसक्ला?”

मोर्चा दुईसँगको राजनीति यात्रालाई उनले आफ्नो जीवनको लक्ष्यहीन र अर्थहीन राजनीतिक यात्राको संज्ञा दिँदै यो यात्राबाट आजदेखि पूर्णविराम लगाएको घोषणा गरेका छन्।

अर्कोतिर उनले अनित थापाको नेतृत्वमा रहेको गोजमुमो पार्टीलाई प्रगतिका लागि शुभकामना पनि दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here