गान्तोक, ३० जुलाईः कोरोना सङ्क्रमणका कारण आज सिक्किममा पाँचजनाको मृत्यु भएको छ।
यससितै सङ्क्रमणको दोस्रो लहरमा मृत्यु हुनेको सङ्ख्या २०५ भएको छ भने कोरोनाबाट मर्नेको कुल सङ्ख्या ३४२ पुगेको छ।
सङ्क्रमणको सङ्ख्या र पोजिटिभिटी दर लगातार चिन्ताको विषय बनिरहेको अवस्थामा दुई दिनभित्रमा नौजनाको मृत्युले राज्यमा यस त्रासदीको अवस्थालाई अझ गम्भीर बनाएको छ।
कोरोना सङ्क्रमणको पोजिटिभिटी दर आज १२ प्रतिशत दर्ता गरिएको छ भने १७९ नयाँ मामिला प्रकाशमा भएका छन्। लगातार पाँचदिनसम्म सयभन्दा अधिक मामिला रहेको पश्चिम जिल्लामा केही राहत देखिएको छ जहाँ आज ३४ वटा नयाँ मामिला दर्ता गरिएका छन्।
यसरी नै पूर्व जिल्लाबाट ६५ वटा नयाँ मामिला प्रकाशमा आएको छ भने दक्षिणबाट आजको सर्वाधिक ७९ मामिला र उत्तर जिल्लाबाट एउटा नयाँ मामिला प्रकाशमा आएको छ।
यसरी नै आज केही सुधारको अवस्थाका साथ ८६ प्रतिशत रिकभरी दर दर्ता गरिएको छ भने १६९ जनाले स्वास्थ्य लाभ गरेका छन्।
पछिल्लो २४ घण्टामा सङ्क्रमित पाइएका मध्ये २० जनालाई अस्पतालमा भर्ना गरिएको छ। आज अस्पतालमा नयाँ भर्ना हुनेहरूका सङ्ख्यामा पनि केही वृद्धि देखिएको छ।
स्वास्थ्य विभागबाट प्राप्त जानकारीअनुसार अहिले राज्यका विभिन्न अस्पतालमा १०७ जना सङ्क्रमित मानिसहरूका उपचार चलिरहेको छ, जसमध्येका १० जनालाई आईसीयूमा राखिएको छ।
नयाँ सङ्क्रमितसितै राज्यमा कोरोनाका सक्रिय मामिला बढ़ेर ३३०२ भएको छ भने कुल मामिला २६,३११ पुगेको छ।