कोलकाता, ३१ जुलाईः भाजपाका सांसद एवं पूर्व केन्द्रीय मन्त्री बाबुल सुप्रियोले राजनीतिबाट सन्न्यास लिएका छन्।
आज सोशल मिडियामा एक पोस्ट लेख्दै आसनसोलका यी भाजपा सांसदले राजनीति छाड़ेको घोषणा गरेका हुन्।
पछिल्लोपटक मन्त्रिमण्डलबाट हटाएपछि नै उनले राजनीति छाड़्ने चर्चा चुलिएको थियो।
उनले आज राजनीतिलाई ‘गुडबाई’ गरेको घोषणा गर्दै भनेका छन्, ‘विदा। म कुनै अन्य पार्टीमा सामेल हुनेछुइनँ। तृणमूल कङ्ग्रेस र माकपा कुनै पार्टीले पनि मलाई फोन गरेको छैन। म कतै पनि जाने छुइनँ। सामाजिक कार्य गर्नका लागि राजनीतिमा हुनैपर्छ भन्ने आवश्यकता छैन।’
यति मात्र एक महिनाभित्र सरकारी आवास छाड़्ने तथा सांसद पदबाट पनि राजीनामा दिने सुप्रियोले बताएका छन्।
उल्लेखनीय छ, केही दिनअघि मोदी मन्त्रिमण्डलमा फेरबदल गरिँदा उनलाई मन्त्रिमण्डल पदबाट हटाइएको थियो। त्यसपछि नै उनले सक्रिय राजनीतिबाट सन्न्यास लिने अड़कल बाक्लिएको थियो।