दार्जीलिङ, 1 अगस्तः छुट्टै राज्य गोर्खाल्याण्डको लागि पहल गर्नार्थ दार्जीलिङका सांसद राजु बिष्टमाथि दबाउ दिँदै आजदेखि भारती गुट गोर्खा लीगले आमरण भोक हड़ताल शुरू गरेको छ।
पार्टी महासचिव एसपी शर्मा एक्लो आमरण अनशन बसेका छन्। उनले लाडेनला रोडस्थित पार्टी कार्यालयमा आजदेखि आमरण भोक हड़ताल शुरू गरेका हुन्।
विशेष गरी राजु बिष्टले दार्जीलिङ पहाड़ अनि गोर्खा जातिका लागि के काम गरेका छन्, त्यसको परिणाम कस्तो छ भन्नेबारे स्पष्टीकरण माग्दै गोर्खा लीगले आमरण भोक हड़ताल शुरू गरेको हो।
भोक हड़ताल शुरू गर्नअघि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा नेता अजय एड्वर्डले गोर्खा लीगको पार्टी कार्यालयमा आएर शर्मासित भेट गरी भोक हड़तालको सट्टा आफूसितै दिल्ली गएर काम गर्ने अपील गरे।
गोरामुमो नेता अजय एड्वर्ड भोलि सोमबार दिल्ली जाने भएका छन्। तर, शर्माले एड्वर्डको यस अपीललाई अस्वीकार गरेपछि एड्वर्ड उनलाई भोक हड़तालको शुभकामना दिएर फर्किए।
यसका साथै शर्माले पनि एड्वर्डको दिल्ली भ्रमण सफल होस् अनि उनको दिल्ली भ्रमणले दार्जीलिङ पहाड़का जनतालाई फाइदा पुगोस् भन्ने शुभकामना दिए।
विशेष दार्जीलिङका सांसद राजु बिष्टले जनाकांक्षाका लागि अहिलेसम्म गरेको कामको विवरण दिने साथै आगामी दिनमा के काम गर्नेछन् भन्नेबारे लिखित जानकारी दिने माग गर्दै आमरण भोक हड़ताल शुरू गरेका छन्।
यसैबिच, शर्माले पत्रकारहरूसित कुराकानी गर्दै भने, “दार्जीलिङका सांसद बिष्टले गत केही दिनअघि संसद भवनमा पीपीएस (स्थायी राजनैतिक समाधान)-को कुरा उठाए, तर त्यो केवल जनताका आँखामा धुलो हाल्ने प्रयास मात्रै थियो। उनी सांसद बनेपछि उनले संसदमा सयौं मुद्दा उठाएका छन्, तर ती सबै मुद्दा शून्यकालमा उठाएका छन्; जसको कुनै अर्थ नै हुँदैन। 2019-को चुनाउमा जनजातिको झूटो मुद्दा उठाएर जनतालाई छल्ने काम गरियो। यसैले गोरामुमो नेता अजय एड्वर्ड यहाँ व्यक्तिगत रूपमा आएर अनशन तोड़्ने गरिएको अपीललाई कदापि स्वीकार गर्न सकिँदैन।
राजु बिष्टले हालसम्म जाति, दार्जीलिङ पहाड़का लागि ठोस के कति काम गगरिसकेका छन् या यदि गरिरहेका छन् र ती कार्यहरू कुन अवस्थामा पुगेको छ आदिबारे लिखितरूपमा जानकारी दिएमा आमरण भोक हड़ताल समाप्त भइहाल्ने एसपी शर्माले बताए।
“यदि काम गर्न सकेका छैनन् भने के कारण हो, त्यसको जवाब दिनुपर्छ। यदि यसपालिको संसद सत्रमा केही गर्न सक्तैनन् भने आगामी दिनमा हुने संसद सत्रमा ठोस के काम गर्नेछन्, त्यसको जवाब लिखितरूपमा दिए पनि यो भोक हड़ताल समाप्त हुनेछ”, उनले स्पष्ट पारे।
अर्कोतिर, भोक हड़ताल स्थलमा पुगेर एसपी शर्मासित भेट गरेका गोरामुमो नेता एड्वर्डले पनि पत्रकारहरूसित कुराकानी गर्दै भने-“एसपी शर्मा र हाम्रो सोचाइ एउटै हो। हाम्रो माग अनि मुद्दा एउटै हो, तर किन अलग-अलग भएर हामी अघि बढ़िरहेका छौं। आमरण भोक हड़ताल सानो कुरा होइन, जातिको मुद्दा समाधान गर्नका लागि सरकारसित कुरा गरेर समाधानको बाटो निकाल्नुपर्छ। यसबारे सम्झाउनका लागि नै म आज एसपी शर्मासित भेट गर्न यहाँ आएको हो।”