मिरिक, १ अगस्तः मिरिकमा केही दिनदेखि लगातार परिरहेको पानीका कारण वार्ड नम्बर-३ मा गएको पैह्रोले स्थानीयनिवासी कुमार प्रधानको घरलाई जोखिम पारेको छ।
पैह्रोकै कारण मिरिक-सिलगढ़ी मुख्य सडकलाई केही समय बाधित गरेको थियो। यद्यपि मिरिक पुलिस प्रशासनले सडकमा थुप्रिएको पैह्रोलाई हटाएर यातायात सुचारू बनाउने कार्य गऱ्यो।
अर्कोतिर, मिरिक नगरपालिका अध्यक्ष एलबी राईले स्थलगत भ्रमण गरी पैह्रो रोकथामका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्। साथै राईले नगरपालिकाबाट तत्काल राहतस्वरूप पैह्रोको रोकथामका लागि तारपोलिन पनि प्रदान गरेका छन्।
उक्त पैह्रो मिरिक खण्ड विकास कार्यालयको छेवैमा गएको हो। यद्यपि खण्ड विकास कार्यालयले पनि पैह्रो रोकथामका लागि तत्काल सहयोग नगरेको प्रधानको भनाइ छ।
प्रधानका अनुसार पैह्रो राति करिब २ बजी गएको हो।