आगजनी घटनाको एसकेएमले गऱ्यो विरोध, जेकब खालिङले भने – एसडीएफले आफै वाहनमा आगो लगाएर एसकेएमलाई बदनाम गर्ने कार्य गर्दैछ

0
1061
एसकेएम प्रवक्ता जेकब खालिङ (फोटो सौजन्य : फेसबुक)

गान्तोक, 26 फरवरी : राज्यको सत्तारूढ़ दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-ले आफै गाड़ीहरू जलाएर सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-लाई बदनाम गराउने कार्य गरिरहेको एसकेएम प्रवक्ता जेकब खालिङले आरोप लगाएका छन्।

मङ्गलवार तिब्बत रोडस्थित पार्टीको मुख्यालयमा सम्पन्न पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै खालिङले यस्तो आरोप लगाएका हुन्। सोरेङ निर्वाचन क्षेत्रका तीनवटा स्थानमा एसडीएफका नेताहरूका मङ्गलवार राति वाहन जलाइएको घटनाप्रति प्रतिक्रिया व्यक्त गर्दै एसकेएमलाई बदनाम  गराउन एसडीएफ आफैले वाहन जलाएको ठोकुवा गरे।

उनले भने, “21 फरवरीको दिन याङगाङको सभा र त्यसअघिका धेरै सभाबाट हाम्रो पार्टीका अध्यक्ष पीएस गोलेले अब एसडीएफ पार्टीले आफै आफ्ना कार्यकर्ताहरूको हत्या गरी हत्याको दोष एसकेएम पार्टीमा लगाउँछ। एसडीएफका कार्यकर्ताहरू आफ्नै पार्टीसँग होशियार हुनु, एसकेएमसँग होइन, आफ्नै एसडीएफ पार्टीसँग सतर्क बस्नु भनेका थिए।  यस्तै घटना सोरेङ निर्वाचन क्षेत्रबाट शुरु भएको छ। सोरेङ निर्वाचन क्षेत्रबाट एसडीएफ आफैले गाड़ी जलाउन थालेको छ।”

प्रवक्ता खालिङले थप भने, “एसडीएफले आफ्नै गाड़ी जलाएर एसकेएमलाई बदमान गर्न थालेको छ। त्यसलाई लिएर उब्जेका शङ्का-उपशङ्काहरूले अहिले सोशल मीडियामा चर्चाको विषय बनेको छ।”

उनले वाहन जलिरहेको फोटो देखाउँदै भने, “यहाँ एउटा जिप्सी गाड़ी जलिरहेको छ। एसडीएफका अनुसार यो गाड़ी अध्यक्ष जेबी तामाङको हो। पछि गाड़ी जल्दैछ, तर अगाड़ि हेडलाइट बलिरहेको छ। हेडलाइट बालेर कसले आगो लगाउँछ? के कुनै अन्य हेडलाइट बालेर गाड़ी जलाउन आउँछन्? लु भन्नोस् त। यो चाहिँ एसडीएफले आफै षड़यन्त्र गरेर अगाड़िपट्टि हेडलाइट बालेर पछिबाट आगो लगाउँदैछ।”

उनले एसकेएमलाई बदनाम गर्नका लागि षड़यन्त्रपूर्वक एसडीएफले यस्तो सरकारी गाड़ीमा आफै आगो लगाइरहेको पनि आरोप लगाए। साथै यस्तो काण्डको एसकेएम पार्टीले घोर विरोध गर्ने पनि खालिङले बताए।

अर्को गाड़ीमा भने पेट्रोल/डिजेल ट्याङ्की खुल्ला राखेर आगो लगाइएको यसबाट धेरै शङ्का-उपशङ्का जन्मिनसक्ने जेकब खालिङले बताएका छन्। यसै गाड़ीबाट डिजेल निकालेर त्यसै गाड़ीमा आगो झोसिएको एसकेएमलाई शङ्का रहेको पनि उनले बताएका छन्।

“यो हेर्दा गाड़ीबाट डिजेल निकालेर आरामले आगो लगाएकोजस्तो देखिन्छ। यस्तो नराम्रो कार्यको हामी विरोध गर्छौं”, उनले थपे “हेर्नोस् सरकारी गाड़ी चाहिँ पूर्ण रूपले जल्दैछ, किनभने यो त सरकारी गाड़ी हो, व्यक्तिलाई नोक्सान हुँदैन, सरकारलाई नोक्सान हुन्छ, तर एउटा प्राइभेट गाड़ी पछाड़ि अलिकति जलेको छ। प्राइभेट गाड़ी चाहिँ पछाड़िबाट अलिकति जल्नु र सरकारी गाड़ी चाहिँ पूर्ण रूपले जल्नुमा के रहस्य लुकेको छ? यसबारे एसडीएफ सरकारले सिक्किमेली जनतालाई बनाउनुपर्छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here