कालेबुङ, 26 फरवरी : मङ्गलवार एक साहित्यिक कार्यक्रमबीच भारतेली नेपाली साहित्यका चर्चित कवि नोर्जाङ स्याङ्देनलाई 22औं पारसमणि पुरस्कार अर्पण गरियो। यो पुरस्कार अर्पण कार्यक्रम कालेबुङको टाउन हलमा आयोजन गरिएको थियो।
पारसमणि पुरस्कार नेपाली कालेबुङको नेपाली साहित्य अध्ययन समितिद्वारा प्रदान गर्नेगरिन्छ। आज पारसमणि जयन्तीको अवसरमा भारतीय नेपाली साहित्यमा उल्लेखनीय योगदानका लागि यो पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा वरिष्ठ कवि मनप्रसाद सुब्बा अनि विशिष्ट अतिथिको रूपमा वरिष्ठ राजेन्द्र भण्डारी उपस्थित थिए। नोर्जाङलाई यी दुवै चर्चित कविद्वयको बाहुलीबाट पुरस्कार अर्पण गरियो। पुरस्कारको रूपमा नगर राशि 15 हजारसँगै स्मृति चिन्ह, प्रशस्ति-पत्र रहेको छ।
स्याङ्देनका अहिलेसम्म ‘मुर्छना’ (1983), ‘कविताजस्तै कविताहरू (1989), राग रन्थरूमा (2001) गरी तीनवटा कविता सङ्ग्रह तथा ‘तिमी छौं किन जिन्दगी’ (2016) गजल सङ्ग्रह र अनुभवी बूढ़ो मान्छेसित संवाद (अनूदित 2017) प्रकाशित छन्।
आफूलाई 22औं पारसमणि पुरस्कारले सम्मान जनाउन योग्यका ठानेर सम्मानित गरेकोमा पुरस्कृत कवि नोर्जाङ स्याङ्देनले नेपाली साहित्य अध्ययन समितिप्रति आभार प्रकट गरे। यसअवधि उनले आफू सङ्ख्यात्मकभन्दा गुणात्मक कविता लेखनमा विश्वास राख्ने पनि बताए।
कार्यक्रमलाई प्रमुख अतिथि मनप्रसाद सुब्बाले पनि सम्बोधन गरे। शुरुमा आफूहरू आधुनिकतावादी लेखन (मोडर्निस्टिक राइटिङ)-बाट प्रभावित भएर कविता लेखन शुरु गरेको र पछिबाट उनीहरू (सुब्बासहित राजेन्द्र भण्डारीहरू पनि ) समकालीन चेतनाको लेखनलाई समाएर कविता लेखनलाई अघि बढ़ाएको, तर नोर्जाङ स्याङ्देन भने आध्यात्मिक लेखनलाई अझ सूक्ष्म र गहन ढङ्गमा कविता लेख्नमा दत्तचित्त बनेको बताए।
स्थानीयलगायत टाढ़ाका साहित्यहरूको उपस्थिति रहेको कार्यक्रममा पुरस्कृत स्रष्टा स्याङदेनको जीवनी मुन्नु गौतम तथा पारसमणि प्रधानको जीवनी सीताराम काफ्लेले राखेका थिए। कार्यक्रमलाई समितिका सचिव बलभद्र शर्माले सञ्चालन गरेका थिए।