एकसूत्री गोर्खाल्याण्ड मुद्दा बोकेर नयाँ पार्टी गठनको पहल

0
953

दार्जिलिङ, 13 अगस्त दार्जिलिङमा नयाँ पार्टी खोल्ने कसरत शुरू भएको छ। यसैका लागि आज (शुक्रबार) दार्जिलिङमा एक सभा गरिएको किशोर प्रधानले जानकारी गराएका छन्।

यसभन्दा अघि किशोर प्रधान क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-का प्रभावशाली नेता थिए। क्रामाकपाले पछिल्लो विधानसभा चुनाउमा आफ्नो उम्मेदवारिता फिर्ता लिँदै भाजपालाई समर्थन गर्ने घोषणा गरेपछि यसको ठाड़ो विरोध जनाउँदै उनले २८ अप्रेलका दिन क्रामाकपा छाड़ेका थिए।

अहिले प्रधानकै नेतृत्वमा नयाँ पार्टी गठनको पहल शुरू गरिएको छ।

उनका अनुसार केवल गोर्खाल्याण्डको मुद्दा लिएर अघि बढ्ने सङ्कल्पका साथ नै नयाँ पार्टी गठन गर्ने पहल शुरू गरिएको हो।

“गोर्खा जातिको अस्तित्व रक्षा अनि राष्ट्रिय परिचयका लागि छुट्टै राज्य गोर्खाल्याण्डको गठन अनिवार्य छ। यसैले वर्तमान समयमा यसमाथि व्यापक चर्चा-परिचर्चा गर्न आवश्यक थियो। तर दार्जिलिङ पहाड़का राजनीतिक पार्टीहरूले हाल केन्द्र र राज्यको शक्तिमा विभाजन भएर काम गरिरहेका छन्”, प्रधानले थपे, “उनीहरूले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई भुलिसकेको जस्तो गरिरहेका छन्। यस्तोमा छुट्टै राज्य गोर्खाल्याण्डको चाहना राख्ने आम जनता अन्योलमा परिरहेका छन्। उनीहरूमा निराशा आइरहेको छ। यसैले अब दार्जिलिङ पहाड़मा एकजनाको निर्देशमा होइन, सामूहिक विचारले नेतृत्वको अवसर पाउनुपर्छ।“

यसै विषयलाई ध्यानमा राखेर आफूहरूले पार्टीमा नेतृत्व विकासमाथि पनि विशेष ध्यान दिइरहेको उनको भनाइ छ।

किशोर प्रधानले थपे, “यो नयाँ पार्टीले नेतृत्वहरू बनाउनेछ, तर भ्यागुता होइन; ताकि पार्टीका शीर्ष नेतृत्वहरूको कमी-कमजोरीमा दोस्रो पङ्क्तिका नेतृत्वहरूले पार्टीलाई सम्हालेर अघि बढ़ाउन सकून्। न कि भ्यागुताजस्तो फुथ्रुक्क उफ्रिएर अर्को पार्टीमा जाऊन्। यसैकारण यस नयाँ पार्टीमा गणतन्त्र हुनेछ अनि यो पार्टीले सरकारसित पनि कुटनीतिक सम्बन्ध राखेर छुट्टै राज्य गोर्खाल्याण्ड गठनको दिशामा अघि बढ्न सङ्कल्प गरेको छ।”

यद्यपि, उनले अहिले नै पार्टीको नाम छिनाफाना नगरिएको बताउँदै यसको नामबारे पनि चर्चा चलिरहेको जानकारी गराए।

उनले यो नयाँ पार्टीमा सबै क्षेत्र वा विधासित संलग्न नागरिकहरूलाई सामेल गरिने भएको बताउँदै आज भएको प्रथम बैठकमा पनि धेरै साहित्यकार, कवि अनि क्रामाकपा त्यागिसकेका नेतृत्वहरू पनि सामेल रहेको बताए।

उनले भने, “दार्जिलिङ पहाड़मा विगत धेरै वर्षदेखि राजनीतिक व्यापार चलिरहेको छ। यस्तो राजनीतिक व्यापारको संस्कारलाई समाप्त गर्नु पनि यो नयाँ अभियानको एउटा सङ्कल्प हो। यसैले यो नयाँ पार्टीमा सामेल भएका कार्यकर्ताहरूले नेताले पठाइदिएको गाड़ीको प्रतीक्षा गर्ने छैनन् अनि नेताले व्यवस्था गरिदिएको होटलमा पनि बस्ने छैनन्। आफ्नै खर्चमा राजनीतिक क्रियाकलाप गर्नेछन् अनि जनताले दिएको चन्दाबाटै यो नयाँ पार्टी पूर्णरूपले पारदर्शी प्रकारले सञ्चालन हुनेछ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here