मदन तामाङ हत्या मामिलाः उच्च न्यायालयमा विमलविरुद्ध सीबीआईले हाल्यो मुद्दा

0
1166

कोलकाता, १३ अगस्तः मदन तामाङ हत्या मामिलामा गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरुङको समस्या बढ़ेको छ।

सीबीआईले यस मामिलामा विमल गुरुङविरुद्ध कोलकाता उच्च न्यायालयमा मुद्दा दर्ता गरेको छ। यसभन्दा अघि मदन तामाङ हत्या मामिलामा तल्लो अदालतबाट गुरुङले राहत पाएका थिए। तर, तल्लो अदालतको फैसलालाई चुनौती दिँदै सीबीआईले उच्च न्यायालयमा विमल गुरुङविरुद्ध मुद्दा दर्ता गरेको हो।

तल्लो अदालतको फैसलालाई चुनौती दिँदै यसभन्दा धेरै अघि नै स्व. मदन तामाङकी पत्नी भारती तामाङले पनि उच्च न्यायालयमा यस्तै मुद्दा हालेकी छन्।

आज (शुक्रबार) यी दुई मुद्दामाथि सुनवाइ थियो। न्यायाधीश तीर्थङ्कर घोषको बेञ्चमा यी मुद्दा उठे तापनि उनले निजी कारण देखाएर हेर्न चाहेनन्। साथै मुख्य न्यायाधीश राजेश बिन्दलको पीठमै यी मुद्दा फर्काइदिए।

उल्लेखनीय छ, २१ मई २०१० का दिन तत्कालीन गोर्खा लीग अध्यक्ष मदन तामाङको हत्या भएको थियो। दार्जिलिङ क्लब साइडमा बिहानको समयमा हत्या भएको थियो।

मदन हत्या मामिलामा गोजमुमो प्रमुख विमल गुरुङलगायत ३० जना अन्यविरुद्ध आरोप लागेको थियो।

चन्द्रमान धुरा क्षेत्रमा एकजना आफन्तको घरमा बैठक गरी मदन तामाङलाई सधैँका लागि समाप्त गर्ने योजना बुनेको विमल गुरुङमाथि आरोप लागेको थियो।

शुरूमा मदन तामाङ हत्या मामिलाको जाँच सीआईडीले गरेको थियो। पछि यसको जाँचको दायित्व सीबीआईलाई सुम्पियो।

१७ अक्टोबर २०१७-मा कोलकाताको सिटी सेसन कोर्टले विमल गुरुङलाई मदन तामाङ हत्या मामिलामा ‘क्लिन चिट’ दिएको थियो। सिटी सेसन कोर्टको यसै फैसलालाई चुनौती दिँदै सीबीआईले उच्च न्यायालयमा पुनरावेदन गरेको हो।

सीबीआईका उकिलले भनेका छन्, “मदन तामाङ हत्याकाण्डमा विमल गुरुङ संलग्न रहेको हामीसंग पर्याप्त प्रमाण छ। त्यसैले तल्लो अदालतको फैसलालाई चुनौती दिन उच्च न्यायालयमा निवेदन गरिएको हो।”

न्युज स्रोत-TV9 Bangla

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here