कालेबुङ, १८ अगस्तः केही दिनअघि टिस्टा नदीमा बेपत्ता बनेका दुईजना शव आज पाइएको छ। दुवैजनाको शव कालीझोड़ा बाँधमा पाइएको हो।
टिस्टा रङ्गीत उद्धार केन्द्रको टोलीले यी शवहरूलाई बाँधबाट निकालेको छ। धेरै दिन भएकाले दुईवटै शव नचिन्ने अवस्थाका भइसकेका थिए।
ती पाइएका दुईवटा शवमध्ये एउटा माम खोलानिवासी विकास तामाङको र अर्को बनारसनिवासी ईशभ यादवको रहेको बताइएको छ। दुईवटै शव चिह्नित गरिएको छ। विकासको तामाङको हातमा रहेको दाग र ईशभ यादवको खुट्टाको औंली हेरेर चिह्नित गरिएको बताइएको छ।
उल्लेखनीय छ, पछिल्लो ३० जुलाईको मध्यराति माम खोलामा गएको बाढ़ी-पैह्रोमा परी माम खोलानिवासी विकास तामाङ बेपत्ता बनेका थिए। विकास तामाङ सेवक-रम्फू रेल परियोजनामा काम गर्थे। यस बाढ़ी-पैह्रोको चपेटमा परी बेपत्ता बनेका अर्का मजदुर डम्बर रामको अझै पत्तो लागेको छैन।
अर्कोतिर, ११ जुलाईका दिन सिक्किमबाट सिलगढ़ीतर्फ फर्किरहेको डब्ल्यूबी ७३ ७६५० नम्बरको पिकअप भ्यान २९ माइलनजिक दुर्घटनामा परी सोझै टिस्टा नदीमा खस्दा बनारसनिवासी ईशभ यादव बेपत्ता बनेका थिए।
बेपत्ता बनेका डम्बर रामको खोजी पनि टिस्टा रङ्गीत उद्धार केन्द्रको टोलीले गरिरहेको छ।