रानीवन गाउँमा पैह्रो, ९ परिवार बिचल्लीमा

0
890

दार्जिलिङ, १८ अगस्तः दार्जिलिङ शहरदेखि करिब ४ किलोमिटर टाढ़ा अवस्थित रानीवन गाउँमा गएको पैह्रोले त्यहाँका ९ परिवारको बिचल्ली भएको छ।

दिन-रात खुन र पसिना बगाएर कमाएको पैसा खर्चेर निर्माण गरिएको उनीहरूका घरहरू पैह्रोको चपेटमा परेर लथालिङ्गै बनेका छन्; जसको फलस्वरूप उनीहरू छेवैमा अवस्थित सेन्ट माइकल स्कूललाई अस्थायी डेरा बनाएर बस्न बाध्य बनिरहेका छन्।

दार्जिलिङको सिंहमारी नजिक यो गाउँको ठीकमुनि गएको पैह्रोका कारण यी ९ परिवारका घरहरू भत्किएका छन्, जहाँ कुनै पनि अवस्थामा बस्न सक्ने स्थिति छैन। तर, कोरोना सङ्क्रमण साम्य भएर स्कूलहरू पुनः खोलिन शुरू भए, के गर्ने? भन्ने चिन्ताले भने उनीहरूलाई सताउन थालेको छ।

रानीवन गाउँको फेदमा विशाल पैह्रो जान थालेको छ, जसका कारण यो गाउँ नै जोखिम स्थितिमा पुगिसकेको छ। यसैले यो पैह्रोबाट सोझै प्रभावित बनेका ९ परिवारका करिब ४० सदस्यले सेन्ट माइकल स्कूललाई अस्थायी डेरा बनाएका छन्। तर कहिलेसम्म? उनीहरूको मनमा यो प्रश्‍न लगातार आइरहेको छ।

उनीहरू अहिले आफ्ना घरमा गएर न त  पुनः बस्न सक्ने अवस्थामा छ, न यस स्कूललाई स्थायी बासस्थान बनाउने नै।

यसबारे पैह्रो पीड़ित सुनिता राईले भनिन्, “हामीलाई अहिले गाँसभन्दा बेसी बासको खाँचो परेको छ।”

उनका अनुसार डेढ़ महिनाका लागि भनेर जिल्ला प्रशासनले रानीवनका यी ९ परिवारलाई यो स्कूल भवनमा अस्थायी बस्ने व्यवस्था मिलाइदिएको हो, जसमध्ये आधा महिना बितिसकेको छ।

“अहिलेसम्म पनि हाम्रा घरलाई अन्य सुरक्षित स्थानमा सारेर पुनर्निर्माण गर्ने कार्य भएको छैन। न त हाम्रा लागि अन्य स्थानको नै कुनै व्यवस्था भइरहेको छ”, राईले थपिन्, “यसैले अबको एक महिनाभित्र हामीले जसरी भए पनि विकल्प सोच्ने समय आएको छ। यसका लागि जिल्ला प्रशासन, जीटीए आदिले ठोस कार्य गरिदिए धेरै असल हुनेछ।”

उनले थपिन्, “अब यो स्कूलमा विद्यार्थीहरूको परीक्षा पनि हुने कुरा सुनिँदैछ। घर भाड़ामा लिएर बस्नसक्ने स्थिति पनि हाम्रो छैन। एकजनाको कमाइले घरका ६-७ जनाका परिवार पाल्नु कि घर भाड़ामा लिएर बस्नु? यसैले यस विषयमा जिल्ला प्रशासनले नै ठोस कार्य गरिदिए उचित हुनेछ।”

सुनिता राईले दार्जिलिङका विभिन्न राजनीतिक पार्टीका नेताहरू पनि आफूहरू बसेको स्थानमा आएर राहत सामग्रीहरू दिएको जानकारी गराएकी छन्।

रानीवन गाउँको फेदबाट शुरू भएको पैह्रोका कारण रानीवनका सम्पूर्ण गाउँ नै प्रभावित बनेको छ। यद्यपि, अहिले केवल ९ परिवारले घर छाड़ेर अस्थायी आश्रय लिनपरेको पैह्रो पीड़ित इन्द्रबहादुर राईले बताएका छन्।

बर्खा अझै समाप्त भएको छैन अनि अझै दार्जिलिङमा घरी घरी पानी पर्ने क्रम पनि चलिरहेको छ। यसैले भविष्यमा यो पैह्रोले सम्पूर्ण गाउँलाई नै आफ्नो चपेटमा पार्ने प्रबल सम्भावना छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here