एसकेएम सरकारले पञ्चायतीराज प्रणालीको खिल्ली उड़ाएको चामलिङको आरोप

0
1074
(फाइल फोटो।)

गान्तोक, १८ अगस्तः एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले आफ्नो सरकारको कार्यकालमा सिक्किममा प्रजातान्त्रिक पद्धतिको विकास र सदुपयोग भएको बताउँदै एसडीएफ कार्यकाल सिक्किमेली जनताको सुखद परिवर्तन काल रहेको बताएका छन्।

बुधबार गान्तोकस्थित एसडीएफ मुख्यालयमा आयोजित पार्टीको पञ्चायत प्रकोष्ठको बैठकलाई सम्बोधन गर्दै चामलिङले आत्मालोचना र समीक्षाको माध्यमद्वारा सबैले विगत र वर्तमानमाथि तुलना गर्नुपर्ने बताए।

एसडीएफले 25 वर्ष त्यसै खेर नफालेको उल्लेख गर्दै एसडीएफ पार्टी र सरकारको योगदानले नै सिक्किमेली जनतामा सकारात्मक परिवर्तनको फल ल्याएको र यो नै पार्टीका लागि खुशीको आधार रहेको बताए।

उनले बैठकमा उपस्थित सबै पञ्चायतप्रति कृतज्ञता प्रकट गरे भने बैठकमा उपस्थिति दिन नसकेकालाई पनि सम्झना गरे।

यस अवसरमा एसडीएफ अध्यक्ष चामलिङले भौतिक विकास र मानसिक विकास समान रूपले हुननसके मान्छे दुःखी र अशान्त हुन्छ भन्दै पार्टीले भौतिक विकाससँगसगै मानसिक विकासको क्रान्तिलाई पनि समानान्तर रूपमा अघि लानुपर्ने बताए।

भौतिक, बौद्धिक र मानसिक विकासको रोल मोडेल राज्यको रूपमा सिक्किमलाई परिवर्तन गराउनु नै एसडीएफको राजनैतिक उद्देश्य रहेको चमलिङले बताएका छन्।

रोगमुक्त, शोकमुक्त र भोकमुक्त सिक्किम एसडीएफ सपना रहेकाले यसलाई विपनामा फेर्ने राजनैतिक प्रतिबद्धता नै पार्टीको राजनीतिक इमानदारिता र नैतिकता रहेको बताए।

जनताको सरकार जनताकै अधीनमा हुनुपर्छ भन्ने बृहत् राजनीतिक उद्देश्यको सफलताका लागि पञ्चायती राजलाई पनि पार्टीगत आधारमा चुनाउ गराउने एसडीएफले फैसला गरेको उल्लेख गर्दै तथापि अहिले स्वतन्त्र चुनाउको पद्धतिले जवाफदेहिता एक व्यक्तिमा सीमित भएको चामलिङले दावी गरे।

साथै वर्तमान अवस्थामा पञ्चायतमाथि पार्टीकै हस्तक्षेप लगाएर एसकेएम सरकारले पञ्चायतीराज प्रणालीकै खिल्ली उड़ाएको उनले आरोप लगाएका छन्।

यति मात्र होइन, संवैधानिक संरचनालाई नै तोड़मोड़ गरेर देशको संविधानले दिएको अधिकारमा अतिक्रमण गर्दै पञ्चायतहरूलाई कमजोर, अवहेलित र अपमानित बनाउने काम एसकेएम सरकारले गरेको एसडीएफ अध्यक्ष चामलिङले आरोप लगाएका छन्।

सामाजिक दुरीको नियमलाई पालन गर्दै पार्टी अध्यक्षको अध्यक्षतामा बसेको बैठकले विभिन्न प्रस्ताव ग्रहण गरेको एसडीएफको प्रचार प्रसार शाखाका महासचिव कृष्ण खरेलद्वारा जारी प्रेस विज्ञप्तिमा बताइएको छ।

बैठकमा पञ्चायत प्रकोष्ठका वरिष्ठ उपाध्यक्ष केएन राई, वरिष्ठ प्रशासनिक उपाध्यक्ष केटी ग्याल्छेन, पार्टीका महासचिव, सचिव, संयोजक अनि कर्मठ कार्यकर्ता साथै पूर्व तथा उत्तर जिल्लाका पञ्चायत, पूर्व पञ्चायत, नगरनिगम पार्षद्, नगर पञ्चायतको उपस्थिति थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here