दार्जीलिङ, 27 फरवरी : बुधवार गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाको एक विशेष प्रतिनिधि सभा सम्पन्न भएको जानकारी पाइएको छ। पार्टी प्रमुख विमल गुरुङले अध्यक्षता गरेको यो सभामा दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक, तराई-डुवर्सलगायत केही विशेष गोर्खा बाहुल क्षेत्रका प्रतिनिधिहरू उपस्थित थिए।
गुरुङ स्वयंले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएअनुसार उक्त सभामा सर्वभारतीयस्तरमा गोर्खाबाहुल क्षेत्रमा लोकसभा चुनाउका लागि पार्टीको रणनीतिमाथि गहन चर्चा गरियो।
विशेष गरी वर्तमान बङ्गाल सरकारको अगणतान्त्रिक नीतिको कारण पहाड़, तराई-डुवर्समा गणतन्त्र नरहेको बारेमा सबैपक्षमाथि सभामा चर्चा गरिएको गुरुङले थप बताएका छन्। उनका अनुसार सभामा विशेषगरी गोर्खाबाहुल क्षेत्रमा निष्पक्ष चुनाउको सम्भावना र वर्तमान राजनीतिक परिवेशमाथि गम्भीर चर्चा परिचर्चा भयो।
चुनाउ पत्ता खोलिहाल्नु पर्ने समय नआएको ठहर गर्दै गोजमुमो सटीक समयमा सटीक चुनावी पत्ता खोल्ने सभाले निर्णय गरेको पनि गुरुङले बताएका छन्।
उनले विज्ञप्तिमा भनेका छन् “सभामा सबै क्षेत्रका प्रतिनिधिहरूले रणनीति अनि व्यावहारिक राजनीतिक पक्षमाथि वक्तव्यहरू राखेका थिए। आजको सभाले सम्पूर्ण गोर्खा, राजवंशी, आदिवासी, मेचे, बिहारी, बङ्गाली, पञ्जाबी, मारवाडीलगायतका समाजलाई बङ्गालमा गणतन्त्रको रक्षाका लागि अनि मानवीय हीत रक्षार्थ आगामी लोकसभा चुनाउका लागि तयार बसिदिने अपील गरेको छ। शान्त पहाड़मा भाषाको विवाद आफै ल्याएर गोर्खा जातिको स्वाभिमानसँग खेलाइँची गर्ने, रगत बगाउने अनि जातीय अस्मिताको व्यापार गर्ने साथै दुईमुखे चरित्र भएका नेताहरूबाट होशियार बसेर आफ्नो बहुमूल्य मत खसाल्ने अनुरोध पहाड़का जनतालाई सभाले गरेको छ।”
गुरुङका अनुसार सभाको शुरुमा पुलवामा भएको आतङ्की हमलामा शहीद बनेका जवानहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गरिएको थियो। साथै आज भारत-पाक सम्बन्ध युद्धको झैं स्थितिमा रहेकोले यो तनाउपूर्ण अवस्थाबारे पनि चर्चा गर्नका साथै वर्तमान केन्द्र सरकारको सङ्कल्प र भारतीय थल, वायु र जल सेनाको हातमा देश सुरक्षित रहेको विश्वास प्रस्ताव सभाले लिएको छ।
यसका साथै सभाले पुलवामा हमलाको बदलामा गरेको जवाबी कारबाहीअन्तर्गत आतङ्कवादीको शिविरमा गरिएको भारतीय वायु सेनाले गरेको पनि हमलालाई सही ठहर्याउँदै भारतीय विङ्ग कमाण्डर अभिनन्दनको सुस्वास्थ्यको कामना गरेको तथा उनलाई पाकिस्तानले शीघ्र फिर्ता गर्नुपर्ने माग गरिएको पनि विमल गुरुङले विज्ञप्तिमा बताएका छन्।
“सामान्य अनि आपतकालीन दुवै स्थितिमा देशको रक्षाका लागि गोर्खाहरू सदैव तयार रहेको अनि रहिरहने पनि सभाले अड़ान लिएको छ”, उनले भनेका छन्।