गान्तोक, १९ अगस्तः हाम्रो सिक्किम पार्टीका कार्यकारी अध्यक्ष भाइचुङ भोटियाले मुख्यमन्त्री पीएस गोलेले हालै गरेको नयाँ दिल्लीको भ्रमण सिक्किमेली जनताका लागि निराशाजनक साबित भएको दावी गरेका छन्।
केन्द्रमा नयाँ क्याबिनेटको विस्तारपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सबै गठबन्धका नेताहरूलाई नयाँ मन्त्रीहरूसित भेट गर्न निम्त्याएको भए पनि यो महत्त्वपूर्ण अवसरमा मुख्यमन्त्री पीएस गोलेले सिक्किमका लागि इनर लाइन परमिट (आईएलपी) माग उठाउन नसक्नु दुर्भाग्यजनक साबित भएको उनको भनाइ छ।
बिहीबार एउटा प्रेस विज्ञप्ति जारी गरी वर्तमानमा चर्चाको विषयमा रहेको ओएनओआरसी मुख्यमन्त्रीका लागि सिक्किममा इनर लाइन परमिटको माग उठाउने ठूलो अवसरका रूपमा आएको भए पनि यसमाथि मुख्यमन्त्रीले केही गर्न नसकेको भाइचुङले आरोप लगाएका छन्।
सिक्किमका लागि आएका महत्त्वपूर्ण अवसरलाई सदुपयोग गर्नको सट्टा मुख्यमन्त्रीले भविष्यमा निश्चित रूपले सिक्किमको 371एफलाई कमजोर बनाउने हरियो झण्डा केन्द्रलाई देखाएर फर्किएको उनको आरोप छ।
भोटियाले बताएअनुसार अन्तर्राष्ट्रिय सीमा जोड़िएका पूर्वोत्तरका सबै राज्यमा आईएलपी लागू छ। भाजपाशासि राज्य भएर पनि ठूलो सङ्ख्यामा बङ्ग्लादेशी अनुप्रवेशकारीका कारण असमले ओएनओआरसी लागू गरेको छैन्।
भाइचुङले दावीका साथ भनेका छन्, ‘सिक्किमको उचित दस्तावेज हुने कुनै पनि नागरिकले सायदै अन्य राज्यमा ओएनओआरसीबाट राशनको लिनेछन्। यस्तो अवस्थामा एसकेएम सरकारले किन सिक्किमेली जनतालाई भ्रमित बनाइरेको छ?”
यति मात्र होइन, रेभन्यु अर्डर नम्बर 1 र 371एफ-लाई कमजोर बनाउने काम एसकेएम सरकारले अघिबाटै गरेको भाइचुङको आरोप छ।
दिल्लीमा मुख्यमन्त्रीले सिक्किमका लिखित माग राखेको यो पहिलो अवसर नभएको उल्लेख गर्दै तथापि जति नै माग राखे पनि त्यसलाई कहिले पनि सार्वजनिक नगरिएको अनि मुख्यमन्त्रीद्वारा राखिएका मागबारे आधिकारिक प्रतिक्रिया के आयो, त्यस विषयमा जनतालाई अवगत नगराउनु दुर्भाग्यजन रहेको भाइचुङले विज्ञप्तिमा उल्लेख गरेका छन्।
मुख्यमन्त्रीको दिल्ली यात्राले सिक्किमेको हित रक्षा हुन्छ भन्ने भरोसा गर्न नसकिने ठहर गर्दै आफ्नो व्यक्तिगत फाइदाका लागि भने सरकारपक्षले दिल्ली यात्रा जारी राख्नेछ भन्ने हाम्रो सिक्किम पार्टीका कार्यकारी अध्यक्ष भाइचुङ भोटियाको भनाइ छ।