दार्जिलिङ, १९ अगस्तः दार्जिलिङका विधायक एवं गोरामुमो महासचिव नीरज जिम्बाले हिजो कालेबुङमा पत्रकारहरूलाई गरेको अभद्र व्यवहारको धेरै विरोध गरिरहेका छन्।
जिम्बाले पत्रकारहरूमाथि गरेको व्यवहारको विशेषगरी सोशल मिडियामा धेरै निन्दा भइरहेको छ।
यसैबिच गोरामुमो नेता अजय एड्वर्ड र भाजपा नेतृ शारदा राई सुब्बा पत्रकारहरूका पक्षमा उभिएका छन्।
प्रश्न सोध्ने स्वतन्त्रता पत्रकारहरूलाई दिनुपर्ने उनीहरूको मत छ।
अजय एड्वर्डले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्- म लोकतन्त्रको चौथो स्तम्भ स्वतन्त्र प्रेसको पक्षमा उभिन्छु। स्वतन्त्र प्रेस, जसले विशेषगरी नेताहरूलाई कड़ा प्रश्न गर्न डराउँदैन। उनीहरूलाई भयरहित वातावरणमा स्वतन्त्र रूपमा कार्य गर्न दिइनुपर्छ। पत्रकारको काम भनेको सरकार र जनताबिच सेतु बनिनु हो। पछिल्लो ३५ वर्षभन्दा बढ़ी समयले पहाड़का नेताहरूले पत्रकारहरूलाई धम्काउने कार्य गर्दै आइरहेका छन्, जसका कारण पहाड़मा नेताहरूले भ्रष्टाचार, भाइभतिजावाद गर्न र सर्वसाधारणमाथि भय सिर्जना गर्ने खुला छुट पाएका छन्। अब यस्तो हुन दिनु हुँदैन। नेताहरू जनताप्रति जवाबदेही हुन्छन्। दार्जिलिङ पहाड़ बदलिरहेको छ। बिस्तारै तर अवश्यै बदलिनेछ।‘
त्यस्तै भाजपा नेतृ शारदा सुब्बाले लेखेकी छन्,- ‘विधायक हुन् वा सांसद हुन् वा मन्त्री नै हुन्, उनीहरू कुनै न कुनै राजनीतिक पार्टीका नेताहरू हुन्। जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरू हुन्। आफ्नो बहुमूल्य भोट दिएर जिताइसकेपछि भोट दिने जनताले उनीहरूलाई भेट्न गाह्रो हुन्छ। गाउँका मतदाताले पाँच वर्षसम्म नै आफूले भोट दिएको आफ्ना प्रतिनिधिसित भेट्न सक्दैन; किनभने गाउँदेखि शहर पुग्नु नै उसका लागि अत्यन्त कठिन काम हुन्छ। जनताको आवाज उठाउने, जनताको पक्षमा नेताहरूलाई प्रश्न सोध्न सक्ने भनेको नै पत्रकार हो। पत्रकारले प्रश्नै सोध्न नपाउनु भनेको त जनताको मुखको आवाज खोस्नु हो। जनताको मुखको आवाज खोसिनु भने गणतन्त्रको हत्या हुनु हो। जनप्रतिनिधि, पत्रकार, सचेत नागरिक सबै जनताको अधिकार रक्षा गर्नलाई उभिन सक्नुपर्छ। म व्यक्तिगत रूपमा सधैँ जनताको पक्षमा उभिन्छु।’