सेप्टेम्बर महिनाको पहिलो साता अनित थापाहरूले नयाँ पार्टीको घोषणा गर्ने

0
897

दार्जिलिङ, २० अगस्तः अनित थापाहरूले पनि सेप्टेम्बर महिनाको प्रथम साता नयाँ राजनीतिक पार्टीको घोषणा गर्ने भएका छन्।

आज केन्द्रीय समितिको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै अनित थापाले यसबारे जानकारी गराएका छन्।

उनले सोझै नयाँ राजनीतिक पार्टी नभनेर ‘नयाँ समीकरण शुरू गर्नेछौँ’ भने। उनका अनुसार नयाँ समीकरण नै भनेकै नयाँ पार्टी हो।

आज स्थानीय एक होटलमा गोजमुमो-2-का कार्यवाहक अध्यक्ष अनित थापाको नेतृत्वमा एक बैठक भएको थियो। यो बैठकमा नयाँ पार्टी गठन विषय चर्चा भएको थियो।

“हामी नयाँ समीकरणमा जाँदैछौँ। बैठकमा यो नयाँ समीकरणकै चर्चा भयो। सबैका सुझाउ बुझ्यौँ। सबैका सल्लाह लियौँ। अहिलेको स्थितिमा नयाँ समीकरणको एकदमै आवश्यकता छ”, थापाले थपे, “सेप्टेम्बरको पहिलो साता नयाँ समीकरणको मञ्च तयार गर्नेछौँ। नयाँ समीकरण भनेको नयाँ पार्टी हो।“

यसैबिच, विश्वस्त सूत्रका अनुसार अनित थापाहरूले नयाँ पार्टीको नाम, झण्डा आदिको तयारी पनि गरिसकेका छन्। यद्यपि, नयाँ पार्टीको घोषणा गर्नका लागि उनीहरूले सही समयको प्रतीक्षा गरिरहेका छन्।

करिब ४ घण्टासम्म चलेको बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै थापाले भने, “नयाँ पार्टीले गोर्खा जाति र दार्जीलिङ पहाड़का विविध समस्याहरू समाधान गर्ने विषयलाई नै मूल मुद्दा बनाउनेछ अनि त्यो नयाँ पार्टीले जलाउने, भत्काउने जस्ता कार्यहरूमा विश्‍वास गर्नेछैन।”

छुट्टै राज्य गोर्खाल्याण्डको सम्बन्धमा गरिएको प्रश्‍नको उत्तरमा उनले भने, “छुट्टै राज्य गोर्खाल्याण्ड दिने केन्द्र सरकार हो अनि यसका लागि वार्ता नै एकमात्र विकल्प हो। जलाउने, भत्काउने कुनै पनि आन्दोलन सफल हुनेछैन। यस्तो आन्दोलन सफल भएको कतै उदाहरण पनि छैन। यसैले नयाँ समीकरणको मञ्च तयार भएपछि आगामी दिनमा के गर्नुपर्ने हो, त्यसबारे अवश्यै विचार-विमर्श हुनेछ।”

अर्कोतिर, उनले गोर्खाको समस्या र पहाड़का समस्यालाई छुट्याएर दुईवटा टिम बनाएर यी दुई समस्या समाधानका लागि कार्य गर्ने पनि थापाले बताए।

उल्लेखनीय छ, केही दिनअघि विनय तामाङले गोर्खा जनमुक्ति मोर्चा-2-का अध्यक्ष पदबाट राजीनामा दिनका साथै यस पार्टीको झण्डा पनि विमल गुरुङको हातमा जिम्मा लगाएपछि अनित थापाहरूले नयाँ पार्टीको स्थापना गर्ने पहल शुरू गरेका थिए। तर, साउन महिनामा कुनै पनि शुभकार्य गर्न हुँदैन भन्ने हिन्दु धर्मावलम्बीहरूको मान्यता रहेकै कारण उनीहरूले नयाँ पार्टीको घोषणा साउन महिना समाप्त भएर मात्रै गर्ने अड़ान लिएका थिए।

यसैले आज उनीहरूले एक बैठक गरी नयाँ पार्टीको घोषणा गर्ने समय सेप्टेम्बर प्रथम साता चयन गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here