अजय एड्वर्डले गोरामुमो छाड़्ने!

0
1073

सिलगढ़ी, २१ अगस्तः आउँदो चार-पाँच दिनभित्रै अजय एड्वर्डले गोरामुमो छाड़्ने निश्चित जस्तै भएका छन्।

गोरामुमोका मिडिया सल्लाहकार एवं अजय एड्वर्डका नजिकका अरविन्द सुब्बाले यसको पुष्टि गरेका छन्।

“अजय एड्वर्डले गोरामुमो छाड़्ने कुरा सत्य हो”, जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै उनले थपे, “गोरामुमो छाड़्नेका कारण उनले पत्रकार सम्मेलन आयोजना गरेरै बताउनेछन्।”

गोरामुमोका दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष पदमा रहेका एड्वर्ड पछिल्ला केही दिनदेखि पार्टीमा निष्क्रिय छन्। उनी अहिले दार्जिलिङदेखि बाहिर छन्।

सुब्बाका अनुसार आउँदो तीन-चार दिनपछि अजय एड्वर्ड दार्जिलिङ फर्किनेछन्। दार्जिलिङ फर्केपछि उनले पत्रकार सम्मेलन गरी आफ्नो निर्णय सुनाउनेछन्।

पछिल्लो विधानसभा चुनाउदेखि नै एड्वर्ड गोरामुमो पार्टीसँग सन्तुष्ट छैनन्।

यसपालिको विधानसभा चुनाउमा दार्जिलिङ विधानसभा सिटबाट उनले टिकट पाउने पक्कापक्की थियो। गोरामुमोको ठूलो वर्गले उनलाई नै उम्मेदवार हेर्न चाहेका थिए। तर टिकट नीरज जिम्बाले पाए। त्यसपछि अजय ए़ड्वर्डले आफ्नो असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त गरेका थिए। कतिसम्म भने उनी स्वतन्त्र उम्मेदवारको रूपमा चुनाउ लड़्ने चर्चा पनि त्यसबेला चुलिएको थियो। तर, गोरामुमो अध्यक्ष मन घिसिङले ठूलो पद दिने आशा देखाएर अजय एड्वर्डलाई तत्कालका लागि मनाएका थिए।

यति मात्र मन घिसिङ आफ्नो नजिकका मित्र भएका कारण पनि एड्वर्डले त्यसबेला आफ्नो असन्तुष्टिलाई दबाएका थिए।

यद्यपि पछिल्लो १६ अगस्तका गोरामुमोको केन्द्रीय कमिटी पुनर्गठन गरिँदा पनि उनलाई कुनै ठूलो पद दिइएन।

उनले गोरामुमोबाट राजीनामा दिएमा यिनै कारणहरू हुनसक्छन्।

अजय एड्वर्ड गोरामुमोका प्रभावशाली नेता हुन्। यसैले उनले पार्टी छाड़्दा गोरामुमोलाई ठूलो झट्का लाग्ने निश्चित छ। यद्यपि अजय एड्वर्ड स्वयंले भने यसबारे केही भनेका छैनन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here