गान्तोक, २१ अगस्तः सत्तारुढ़ एसकेएम पार्टीका प्रवक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङमाथि दुष्कर्मको प्रयास तथा अन्य गम्भीर आरोप भएर पनि सिक्किम पुलिसले कुनै कारबाही नगरेको गम्भीर आरोप सिक्किमे नागरिक समाजले लगाएको छ।
आज गान्तोकमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिक्किमे नागरिक समाजका महासचिव तथा प्रवक्ता पासाङ शेर्पाले जेकब खालिङविरुद्ध एक महिनाभन्दा अघि दर्ता भएको एउटा प्रथमिकीमा कुनै कारबाही नभएको भन्दै सिक्किमे नागरिक समाजले सिक्किम पुलिसका महानिर्देशकलाई एउटा उजुरी पत्र बुझाएको बताए।
यस अवसरमा सिक्किमे नागरिक समाजले पुलिस महानिर्देशकलाई आज बुझाएको उजुरी पत्र र जेकब खालिङविरुद्ध दर्ता गरिएको प्राथमिकीको प्रतिलिपि पनि मिडियालाई उपलब्ध गराएको छ।
पुलिस महानिर्देशलाई सिक्किमे नागरिक समाजले बुझाएको उजुरी पत्रका अनुसार, जेकब खालिङविरुद्ध स्थानीय पुलिसले प्राथमिकी दर्ता गराउन नमानेपछि पीड़िताले पूर्व जिल्लाका पुलिस अधीक्षकको नाममा प्राथमिकीको प्रतिलिपि पछिल्लो ६ जुलाईका दिन स्पिड पोस्ट गरेकी थिइन्, जुन प्राथमिकीको प्रतिलिपि पुलिस अधीक्षकको कार्यालयले ९ जुलाईका दिन प्राप्त गरेको थियो।
तथापि यो ‘जघन्य अपराध’ -को आरोप लागेको एक महिना बितिसक्दा पनि आरोपित व्यक्तिविरुद्ध पुलिस प्रशासनले कुनै कारबाही नहुनु अचम्भित विषय रहेको बताउँदै सिक्किमे नागरिक समाजले सिक्किम पुलिसको व्यवहारमाथि प्रश्न खड़ा गरेको छ।
पुलिस महानिर्देशकलाई बुझाएको उजुरी पत्रमा सिक्किमे नागरिक समाजले भनेको छ, ‘दुष्कर्मको प्रयास, छेडछाड, विनम्रताको अपमान, ज्यानका लागि खतरा तथा अनुसूचित जाति तथा जनजाति अत्याचार अधिनियमको उल्लङ्घन हुँदा पुलिसले वारण्टको पनि प्रतीक्षा नगरी आरोपितलाई तत्काल पक्राउ गर्नुपर्ने थियो। सिक्किमजस्तो शान्तिपूर्ण र संवेदनशील सीमा राज्यमा यस्तो घृणित अपराधविरुद्ध कारबाही गर्न कानून लागू गर्ने निकायहरू असमर्थ हुनु अकल्पनीय विषय हो। आरोपी सरकारमा शक्तिशाली पदमा आसिन रहेका कारण कानून प्रवर्तन गर्ने एजेन्सीहरू न्याय प्रदान गराउन र कानूनको पवित्रता कायम राख्नुका सट्टा उल्टै आरोपितको रक्षा गर्न लागिपरेको भान हुन्छ।‘
यस घटनाले सम्पूर्ण पुलिस विभागको बदनामी मात्र नभएर पुलिस तथा कानून लागू गर्ने एजेन्सीमाथि आम नागरिकको विश्वास धुमिल भएको उल्लेख गर्दै सिक्किमेली जनताको बृहत् हित न्याय र कानूनको शासनको होस् भन्ने माग सिक्किमे नागरिक समाजको रहेको छ।
साथै जेकब खालिङलाई पुलिसले तत्काल पक्राउ गर्नुपर्ने साथै पदबाट बर्खास्त गर्नुपर्ने माग गरेको छ। यसो नगरिएको खण्डमा सिक्किममा ‘जङ्गल राज’ छ भन्ने प्रमाणित हुने सिक्किमे नागरिक समाजको भनाइ छ।
अर्कोतर्फ, सिक्किमे नागरिक समाजले लगाएका आरोपलाई जेकब खालिङले खारेज गरेका छन्। गान्तोकमा पत्रकार सम्मेलन गरी सिक्किमे नागरिक समाजले विभिन्न आरोप लगाएपछि जेकब खालिङमाथि आफूमथि लगाइएका सम्पूर्ण आरोप झुटा अनि षड्यन्त्र मात्र रहेको बताएका छन्।
साथै आरोपको खण्डन पनि उनले गरेका छन्।
खालिङले आफ्नो आधिकारिक फेसबुक पोस्टमा लेखेका छन्, ‘म बोल्दा विपक्षी पार्टीहरूका मुख बन्द हुने भएकोले उनीहरूले मेरो मुख बन्द गर्न खोजेको मात्र हो। म मेरो ईमान र कर्तव्यमा सठिक छु अनि आफैसँग विश्वस्त छु। यसकारण मेरा शुभचिन्तकहरूलाई नसुर्ताउने आग्रह गर्छु। हामी राजनीतिमा छौँ, राजनीति सिद्धान्त र नीतिमा गरिनुपर्छ, मुद्दाको जवाब मुद्दाले दिनुपर्छ। तर व्यक्तिगत र झुटा कुरा गरेर अरूको जीवन र परिवारमा हस्तक्षेप गर्नु राजनीतिक अपराध हो।’
उनले थप लेखेका छन्, ‘आजसम्म मैले जहिले पनि राजनीतिमा सिद्धान्त, नीति र मुद्दाको कुरा गर्दै आएकोछु। धेरै जनाको व्यक्तिगत जीवनका कुरा हाम्रो कानमा आउँदा पनि त्यसलाई मुद्दा बनाउने नीच राजनीति हामीले कहिले गरेनौँ। यसमा पनि आज ममाथि लगाइएका आरोप पूर्ण रूपले झुटो भएका कारण यो राजनीतिका सबैभन्दा तल्लो दर्जा हो भनेर घोषणा गर्नु चाहन्छु। संसारमा जहिले पनि सत्यको जीत हुन्छ भन्ने कुरामा म विश्वस गर्छु। यस्ता षड्यन्त्र र झुटा आरोपले मेरो मुख बन्द हुने छैन। मेरो कदम रोकिने छैन। विपक्षका हरेक प्रश्नको मैले उत्तर दिँदा मुख बन्द भएका व्यक्तिले नसोच्नु यस्ता षड्यन्त्रहरूले मेरो बोली बन्द गर्नेछ भनेर। पार्टीका सम्पूर्ण नेतृत्वगण अनि कार्यकर्ताहरूलाई पनि प्रष्ट गर्नु चाहन्छु, हाम्रो पार्टीलाई कमजोर बनाएर फेरि पनि पहिलाकै शोषकहरूको राज फर्काइल्याउने षड्यन्त्र मात्र हो यो। जीवनको अन्तिम घड़ीसम्म म यस्ता षड्यन्त्र र जालसाजविरुद्ध अदम्य साहस र हिम्मतले लड़ाइँ लड़िरहनेछु।’