जनजातिका लागि केन्द्र सरकारमा अहिलेसम्म कुनै पहल नभएको प्रमाण हामीसँग छः प्रकाश गुरुङ

0
985

खरसाङ, २२ अगस्तः गोर्खा जातिका ११ जातगोष्ठीलाई जनजाति दर्जा दिने विषयमा अहिलेसम्म केन्द्र सरकारमा कुनै पहल नभएको ठोस प्रमाण आफूहरूसँग रहेको विमल गुरुङपन्थी गोजयुमोको दावी छ।

आज खरसाङमा सम्पन्न युवा मोर्चा साङ्गठनिक सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै युमो केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले यस्तो दावी गरेका हुन्।

“भाजपाले गोर्खा जातिलाई छक्याउने/लट्याउने काम गरेको छ। यो कुरा बिस्तारै उदाङ्गो हुँदैछ। भारतीय जनता पार्टीको मखुण्डो बिस्तारै जनताअघि त खोलिँदैछ”, उनले थपे, “हामीले धेरैवटा आरटीआईमार्फत जानिरहेका छौँ; जनजातिको विषय लिएर आजसम्म केन्द्र सरकारमा कुनै ठोस पहल नभएको ठोस प्रमाणहरू हामीसँग छ।”

गुरुङले त्रिपक्षीय वार्ताको आश्वासनलाई पनि भाजपाको झूटको संज्ञा दिएका छन्। उनका अनुसार जनता यस्ता झूटा कुराहरूमा अल्झिनु हुँदैन।

गुरुङले थपे, “भारतीय जनता पार्टीको मुख्य एजेन्डामा गोर्खाका समस्याहरू छैनन्। किनभने भाजपाले भारतीय गोर्खाहरूलाई भन्दा धेरै नेपालका नागरिकहरूलाई मान्यता दिन्छ। भाजपाका एक वर्गका नेताहरूले भारतीय गोर्खा र नेपालका नागरिकहरूलाई एउटै नजरले हेर्ने गरेका छन्। यसको हामी कड़ा विरोध गर्छौं।”

यति मात्र होइन, उनले दार्जिलिङ पहाड़, तराई एवं डुवर्सको दीर्घकालीन समस्याको स्थायी राजनीतिक समाधान अर्थात पीपीएसमार्फत् केन्द्र सरकारले चाँड़ोभन्दा चाँड़ो छुट्टै राज्य गोर्खाल्याण्ड गठन गरिनुपर्ने माग गरे।

अर्कोतिर, प्रकाश गुरुङले राज्य सरकारसँग आफूहरूको कूटनीतिक सम्बन्ध बढ़िरहेकाले पटक पटक कोलकाता गएर मन्त्री र नोकरशाहीहरूलाई क्षेत्रको आवश्यकता र समस्या बुझाउने कोशिश गरिरहेको र राज्य सरकारलाई पनि क्षेत्रको समस्याको दीर्घकालीन समस्या हुनुपर्ने मागमा ज्ञापनहरू चढ़ाइरहेको पनि बताए।

साथै राज्यको तृणमूल र केन्द्रको भाजपा दुवै सरकारले दार्जिलिङ पहाड़, तराई एवं डुवर्सको समस्याको समस्या गर्नेछ भन्ने कुरामा आफूहरू विश्वस्त रहेको पनि उनले थपे।

यदि समस्या समाधानलाई बेवास्ता गरिए भोलिका दिनमा क्षेत्रको स्थिति ‘अर्कै’  हुनसक्ने सम्भावनाहरू रहेको पनि प्रकाश गुरुङले बताए।

“राज्य र केन्द्र सरकारले प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा राजनीतिक कसरत नगरेकै राम्रो हो। किनभने हामी पनि चाहन्छौँ- देशको उन्नति र विकास होस्। यही सोच लिएर हामी अघि बढ़्नेछौँ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here